आइसीसी यू–१९ विश्वकपको एशिया छनोट, नेपाल मलेसियालाई भारी अन्तरले पराजित गर्न सफल


आइसीसी यू–१९ विश्वकपको एशिया छनोट अन्तर्गत आजको खेलमा नेपालले मलेसियालाई फराकिलो अन्तरले पराजित गरेको छ ।

क्वालालम्पुरमा भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले हराएको हो । टस हारेर पहिला व्याटिङ गरेको घरेलु टोली मलेसिया ३३.४ ओभरमा अल आउट हुँदै ९२ रन बनायो । नेपालका लागि पवर्न शर्राफ र कुशल मल्लले तीन तीन विकेट लिए । 

यसैगरी कमलसिंह ऐरीले २ तथा सागर ढकालले एक विकेट लिए । मलेसियाका इजित फिक्वीले सर्वाधिक ३७ रन बनाउँदा मोहम्मद अमिरले १३ रन जोडेका थिए ।

यसैगरी हकिम हसरनले १० रन बनाउनु बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ९३ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।

सानो लक्ष्य पाएको नेपालले राम्रो सुरुवात गरेको थियो । ४२ रन हुँदा नेपालले पहिलो विकेट गुमायो । नेपालका ओपनर पवन सराफ ब्यक्तिगत १९ रनमा आउट भए । उनले १३ बलमा २ चौका र एक छक्का प्रहार गरे । उनी लामो प्रहार गर्ने क्रममा स्टम्पिङ हुन पुगे ।

दोस्रो विकेटका लागि आसिफ शेख र रित गौतमले उत्कृष्ट ४६ रनको साझेदारी गर्दै टिमलाई सहज जीत दिलाएका थिए । जसमा रितले ३९ रन बनाए भने आसिफ शेखले २६ रनको योगदान गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?