पिपल्स च्वाइस अवार्डमा सन्दीप, सावित्रा, महेश्वर, रेश्मा र प्रिन्स मनोनयनमा


क्रिकेटर सन्दीप लामिछाने र फुटबलर सावित्रा भण्डारीसहित पाँच खेलाडी बजाज पल्सर स्पोर्टस् अवार्ड अन्तर्गतको पिपल्स च्वाइस अवार्ड विधामा मनोनयनमा परेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सार्वजनिक गरेको पिपल्स च्वाइस अवार्डमा शारिरीक सुगठनका महेश्वर महर्जन, भलिबलकी रेश्मा भण्डारी र ब्याड्मिन्टनका प्रिन्स दाहाल पनि हुनुहुन्छ ।
वि.सं २०७५ सालमा खेलकुद क्षेत्रमा लोकप्रियता हासिल गर्न सफल खेलाडीलाई यस विधामा मनोनयन गरिएको हो । मनोनयनमा परेका खेलाडीमध्येबाट विजेताको घोषणा उनीहरुले हासिल गर्ने सर्वाधिक मतको आधारमा हुनेछ । यसको निर्णय एसएमएम भोटिङ, फेसबुक लाईक, खेलकुद पत्रकार मञ्चका पत्रकारका भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा गरिनेछ । 

एसएमएस भोटिङ र फेसबुक लाईकको मतभार ५० प्रतिशत रहनेछ । पत्रकारको भोट र संघका मुख्य प्रशिक्षकको मतको भार २५/२५ प्रतिशत रहनेछ । विजेताको घोषणा आगामी असार १७ गते आयोजना हुने पल्सर स्पोर्ट्स अवार्डको अवसरमा गरिनेछ ।
मनोयननमा परेका सबै खेलाडीले आइतबार आफूलाई मत दिएर विजेता बनाउन आग्रह गरेका छन् । गत वर्ष नेपाललाई शारीरिक सुगठनमा अन्तर्राष्ट्रिय ऐतिहासिक पदक दिलाउने महेश्वरले आफूले प्राप्त गरेको स्वर्ण पदक तीन करोड नेपालीको हो, भन्नुभयो । यसैगरी, घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितामा शानदार प्रदर्शन गरेर वर्षभरि चर्चित रहेकी सावित्राले बारम्बार नेपाललाई साफ च्याम्पियन बनाउने सपना पूरा नभए पनि आफूले प्रयास गर्न नछोड्ने बताउनुभयो ।

एपीएफले गत वर्ष दस उपाधि जित्दा विशेष भूमिका निर्वाह गर्ने रेश्माले भलिबल नेपालको राष्ट्रिय खेल भएपनि यस खेलको उत्थानमा अझ धेरै काम गर्न बाँकी रहेको र आफू पनि भलिबलमा केही योगदान दिन खेलिरहेको हुँ, भन्नुभयो । उमेर समूहमा नेपाली ब्याड्मिन्टनलाई अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक दिलाउने प्रिन्सले मनोयनमा परेकोमा खुशी व्यक्त गर्दै नेपालका लागि अझ थप पदक हासिल गर्ने विश्वास देखाउनुभयो । नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष विभिन्न विधामा नेपाली खेलकुद क्षेत्रमा योगदान पु¥याएका खेलाडी प्रशिक्षक र टिमलाई अवार्ड दिँदै आएको छ । यसपटक विभिन्न दस विधामा अवार्ड प्रदान गरिने छन् । यस वर्ष १६ औँ संस्करणमा एक नयाँ विधा थप गरिएको छ ।
यस पटक पिपल्स च्वाइस अवार्डसँगै वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर सहित थप गरिएका विधा इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्टलाई पुररस्कृत गरिनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?