कोलम्बियासँग अर्जेन्टिना पराजित भएपछि के भने मेस्सीले ?
क्लब र व्यक्तिगत स्तरमा जित्न सक्ने र पाउनु पर्ने सबै उपाधि तथा अवार्ड हात पारेका लियोनल मेस्सीले राष्ट्रिय टिमबाट भने अझैसम्म प्रमुख उपाधि जित्न सकेका छैनन् ।
विश्वकपमा फाइनल तथा कोपा अमेरिकामा दुई पटक फाइनलमा पुगेर उपाधि बिहीन भएको मेस्सीसहितको अर्जेन्टिनाका लागि ब्राजिलमा नेपाली समय अनुसार शनिबार बिहान सुरु भएको कोपा अमेरिकाको यो संस्करण त्यो कमी पूरा गर्ने मौकाको रुपमा रहेको छ । तर यसको सुरुवात भने खराब रह्यो ।
नेपाली समय अनुसार आइतबार बिहान भएको समूह चरणको आफ्नो पहिलो खेलमा मेस्सी कप्तानीको अर्जेन्टिना राडामेल फाल्काओ कप्तानीको कोलम्बियासँग २–० ले पराजित भयो ।
खेलपछि मेस्सीले भने, ‘हामीले यसरी प्रतियोगिताको सुरुवात गर्न चाहेका थिएनौँ । राम्रो सुरुवात गर्न चाहनाका कारण हामी केही नर्भस भयौँ, गल्ती गर्न नचाहँदा हार्न पुग्यौँ ।’ खेलमा मेस्सीले गोल गर्ने राम्रो मौका गुमाएका थिए ।
मेस्सीले भने, ‘हामीले शिर उचो बनाउनु पर्छ र अर्को खेलका लागि ध्यान केन्द्रित गर्नु पर्छ, किनकी यो सुरुवात मात्रै हो, अझै धेरै खेल खेल्न बाँकी छ ।’