भीडीए र ओजी फाईनान्स मर्ज, भीडीए फाईन्स एण्ड क्यापिटलमा स्तरोन्नति
अष्ट्रेलियाको मेलबर्नमा सञ्चालित भीडीए फाईनान्स र ओजी फाईनान्स मर्ज भएका छन् । यी दुई कम्पनी मिलेर अब भीडीए फाईनान्स एण्ड क्यापिटलमा स्तरोन्नति हुने भएका हुन् । मेलबर्नका पहिलो नेपाली मोर्टगेज ब्रोकर कर्ण रानाले ओजी च्वाईस फाईनान्स चलाइरहेका थिए भने सुरज ऐरले भीडीए फाईनान्स स्थापना गरेका थिए । ५ वर्षअघि स्थापना गरिएको भीडीए फाईनान्सले आफ्नो सेवालाई विस्तार गर्दै फाईनान्स एण्ड क्यापिटलमा फड्को मारेको हो ।
मेलबर्नको ग्लेनरोयमा केन्द्रीय कार्यालय रहेको भिडिए फाईनान्स एण्ड क्यापिटलले आफ्नो दोश्रो कार्यालय वेष्ट मेलबर्नमा पनि सुरु गरेको छ । यस्तै तास्मानियामा भीडीए फाईनान्स क्यापिटल्सको तेश्रो कार्यालय सञ्चालनमा आइसकेको छ । “मेलबर्नमा दोश्रो कार्यालय र तास्मानियामा तेश्रो कार्यालय सञ्चालन पछि अब हामी अन्य शहरमा पनि विस्तारको योजना बनाइरहेका छौं ।” संस्थापक निर्देशक सुरज ऐरले एमएनटीभीलाई भने ।
ऐरका अनुसार होम लोन, पर्सनल लोन लगायतमा काम गरिरहेको कम्पनीले अब ठूला कमर्शीयल आयोजनाहरुको समेत फाईनान्स हेर्नेछ । यसका लागि मेलबर्नका पुराना मोर्टगेज ब्रोकर कर्ण रानासँग सहकार्यको योजना बनेको हो । “ठूला अपार्टमेन्टहरु, अस्पताल, कोलनी, कमर्शियल टावर लगायतको फाईनान्सका लागि समेत हामीले सम्पूर्ण तयारी गरिसकेका छौं । भीडीए फाईनान्स एण्ड क्यापिटल भएपछि अब एक सय मिलियनभन्दा बढी लगानीका ठूला परियोजनाहरुका लागि अष्ट्रेलिया र विदेशका लगानीकर्ताहरुको पनि सेवा गर्न सकिनेछ ।” ऐरले भने ।
छोटो समयमा नै सफलताको नयाँ उचाई हासिल गरेको भीडीए फाईनान्सले गएको वर्ष मात्रै १०० मिलियनभन्दा बढीको लोन सेटलमेन्ट गरेको थियो ।