विश्वकप फुटबलको छनोटमा नेपाल र अष्ट्रेलिया भिड्ने, खेल कुन शहरमा होला ?
नेपालको विश्वकप फुटबलमा सहभागी हुने सपना पुरानै हो । तर, यो संयोग जुरेको छैन । तर, यस पटकको छनोट खेलमा भने एशियन पूर्वच्याम्पियन अष्ट्रेलिया र नेपाल एकै समूहमा परेपछि अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको लागि भने यो साँच्चै सुखद खबर बन्न पुगेको छ । यतिबेला अष्ट्रेलियामा एक लाखभन्दा बढी नेपाली छन् । नेपालीहरुको सबैभन्दा मनपर्ने खेल नै फुटबल हो । र, अष्ट्रेलियामा छनोट चरणको अष्ट्रेलियासँगको एक खेल हुनेछ । साथै, अष्ट्रेलियाको टिम नेपाली टोलीसँग खेल्न काठमाडौं पनि जानेछ । यी दुबै घटनाले यहाँको नेपाली समूदायलाई तरंगित बनाएको हो । बुधबार एस्फसीले सार्वजनिक गरेको खेलतालिकामा नेपाल र अष्ट्रेलियासँगै जोर्डन, चाईनिज ताईपेई र कुवेत परेका छन् । दोश्रो चरणमा पुगेको नेपालसहित ४० टिमलाई ८ समूहमा विभाजन गरेर प्रत्येकमा ५ टिमलाई राखिएको छ । यो प्रतिस्पर्धा एक महिनापछि नै सुरु हुँदैछ । यी पाँच टिमले होम र अवेका आधारमा एक वर्षको अन्तरमा आठ वटा खेल खेल्नेछन् । नेपाल र अष्ट्रेलियाबीच यसअघि फुटबल भिडन्त भएको थिएन । ताईपेइ र कवेतसँग भने नेपालले मैत्री खेल खेलेको छ । जोर्डनसँग नेपालले सन् २०१४ मा छनोट खेल खेल्दा ९ गोल खाएको थियो भने काठमाडौंमा भएको खेलमा बराबरी गरेको थियो । यस पटकको अष्ट्रेलियासँगको खेल कुन शहरमा आयोजना होला ? यतिबेला चासो बढेको छ ।