एनआरएन अष्ट्रेलियाको आठौं राष्ट्रिय सम्मेलन सम्पन्न, कँडेल नेतृत्वको टिमलाई पदभार हस्तान्तरण
केशव कँडेल नेतृत्वको नयाँ टिमलाई पदभार हस्तान्तरण गर्दै गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आठौं राष्ट्रिय सम्मेलन मेलबर्नमा सम्पन्न भएको छ । अगष्ट १० र ११ तारिख गरी दुई दिन चलेको सम्मेलनको बन्द सत्रमा सहभागी सदस्यहरुले गम्भीर ढंगले विविध विषयमा छलफल गरेका छन् । उक्त अवसरमा गएको कार्यकालको क्रियाकलापहरुको विषयमा महासचिव नारायण कोइरालाले जानकारी गराएका थिए भने कोषाध्यक्ष अच्युत थपलियाले आर्थिक पाटोको जानकारी दिएका थिए । यस्तै अध्यक्ष टोनु घोतानेले नयाँ विधान अनुसार निर्माण गरिएका नियमावलीहरुलाई साधारणसभा समक्ष अनुमोदनका लागि पेश गरेकोमा निर्वाचनका विषयमा पछिल्लो निर्वाचन आयोगले गरेका सिफारिशहरुलाई समेत मध्यनजर गर्दै परिमार्जन गर्ने सहमतिसहित पारित भएको छ । नियमावलीहरुको परिमार्जनको जिम्मा कार्यसमितिलाई दिने निर्णय पनि अधिवेशनबाट भएको छ । यस्तै पोलिसी ईन्ष्टिच्युटको स्थापना गर्ने निर्णय पनि साधारणसभाले गरेको छ । एनआरएन अष्ट्रेलिया संघीय तहमा दर्ता भइसकेपछि अब हरेक वर्ष अधिवेशन गर्नुपर्नेछ ।
पदभार हस्तान्तरण
अष्ट्रेलियाभरिबाट मेलबर्नमा भेला भएका नवनिर्वाचित एनआरएन अष्ट्रेलियाका पदाधिकारीहरुलाई राष्ट्रिय निर्वाचन संयोजक एवं एनआरएन अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसीले सपथ दिलाएका थिए । उनले सपथअघि बोल्दै सबै पक्षलाई मिलेर अष्ट्रेलियाको समाजमा नेपालीहरुको शीर उँचो राख्ने कार्यमा लाग्न आग्रह गरे । विभाजनबाट अघि बढ्दा कोही पनि सफल नहुने उनको भनाई थियो ।
सपथग्रहणपछि बोल्दै नवनिर्वाचित अध्यक्ष केशव कँडेलले सबैलाई समेटेर लैजाने आफ्नो प्रमुख एजेन्डा रहने बताए । उनले आफ्नो परिवारसहित सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।
यस्तो भयो एवार्ड वितरण
कार्यक्रमको गाला डिनर तथा एवार्ड वितरण समारोहमा अष्ट्रेलियाको नेपाली समूदायमा रही विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा अष्ट्रेलियाका संघीय सांसद पिटर खलिल सहभागी थिए भने विराटनगरका मेयर भीम पराजुली पनि विशेष अतिथिको रुपमा उपस्थित थिए । एनआरएनका पूर्वअध्यक्ष शेष घले, क्षेत्रीय संयोजक धर्मराज अधिकारी अतिथिको रुपमा सहभागी थिए । यस्तै भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योन्जन लगायत विभिन्न अन्य देशका कन्सुल जनरलहरुको समेत उपस्थितिमा एवार्ड वितरण गरिएको थियो । एवार्ड कमिटीका संयोजक गणेश केसीले छनोटको प्रक्रियाका विषयमा जानकारी दिएका थिए ।
आठौं राष्ट्रिय सम्मेलनको दोश्रो दिन नवनिर्वाचित पदाधिकारीहरुलाई पूर्वअध्यक्षहरु, आईसीसीका संरक्षक लगायतले संस्थाको विषयमा जानकारी गराउँदै उनीहरुको जिज्ञासाको जवाफ दिएका थिए ।