पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि रवि लामिछानेसहित तीन जना पक्राउ !
न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेलाई आज चितवन जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिने भएको छ । हिजो काठमाडौंबाट पक्राउ गरिएका रविलाई राति नै चितवन पुर्याइएको थियो । राति स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालयमा राखिएका लामिछानसँगै टेलिभिजनका रिपोर्टर युवराज कँडेलसँगै यो घटनाक्रमको मुख्य पात्र मानिएकी अस्मिता कार्की पनि पक्राउ परेकी छिन् । अस्मिता कार्कीसँग अन्तर्वार्ता लिएर बिहीबार कार्यक्रम निर्माण गर्ने तयारी गरिरहेको बेला प्रहरीले अस्मितालाई पक्राउ गरेको थियो । अस्मितालाई पनि चितवन प्रहरीकै अनुरोधमा काठमाडौंबाट पक्राउ गरिएको थियो । खुल्ला रुपमा भिडियोमार्फत नै हत्याको आरोप स्वयं आत्महत्या गर्ने व्यक्तिले लगाइसकेपछि यस विषयमा अनुसन्धान गर्नको लागि बाटो खुला गर्ने स्वयं लामिछानेले बताइसकेका थिए । यतिबेला त्यही अनुसन्धान भइरहेको छ । लामिछानेको या सिधाकुरा टिमको कुन तहसम्मको संलग्नता छ यो प्रहरीले खोजी गर्ने नै छ । सत्यतथ्य छिटोभन्दा छिटो बाहिर आउने अपेक्षा गरौं ।