रवि लामिछानेसहित तीन जनालाई अदालतमा लगियो, म्याद थप गर्न प्रहरीको माग
आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा छानविनका लागि पक्राउ गरिएका न्यूज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेलाई चितवन जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिएको छ । बाहिर अत्यधिक मानिसहरुले विरोध प्रदर्शन गरेपछि उनलाई सुटुक्क पछिल्लो ढोकाबाट अदालतमा लगिएको थियो । बाहिर प्रदर्शन गरिरहेकाहरुले यो चाल नै पाएनन् । प्रदर्शनको क्रममा सडकमा आएका व्यक्तिहरुले हाम्रो रवि हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने नारा लगाएका छन् । उनीहरुले रविलाई तत्कालै रिहा गर्नुपर्ने माग गरेका छन् । मिडियासँग कुरा गर्दै प्रहरी प्रशासनले रविलाई फसाउन खोजेको र यस्तै अवस्था रहे कुलमान घिसिंगलाई पनि फसाउनसक्ने भन्दै आफ्नो तर्क राखिरहेका छन् । अदालतले २५ दिनसम्मको म्याद थप गर्न सक्छ । अथवा उसले केही दिनको म्याद दिएको अवस्थामा फेरि केही दिनपछि म्याद थपका लागि प्रहरीले अदालत ल्याउन सक्छ । तर, अधिकतम २५ दिनभन्दा बढी म्याद अनुसन्धानका लागि थप्न मिल्दैन । यही २५ दिनभित्रै अनुसन्धान टुंगाएर सरकारी वकिल मार्फत अदालतमा पेश गर्नुपर्ने कानूनी प्रावधान छ ।