पुडाशैनीको आत्महत्या प्रकरण : चितवन जिल्ला अदालतमा सञ्चारकर्मीलाई प्रवेश रोकेर बहस, पाँच दिन म्याद थप
माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडाशैनीको आत्महत्या प्रकरणमा न्यूज २४ टेलिभिजनका प्रस्तोता रबि लामिछानेसहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । यसअघि दिइएको ५ दिनको म्याद सोमबार सकिँदा मंगलबार उनको म्याद थपका लागि अदालत लगिएको थियो ।
पुडाशैनीले आत्महत्या गर्नुअघि बनाएको भिडियोमा सञ्चारकर्मी रबि लामिछाने, टिभी जर्नालिष्ट युवराज कँडेल र अस्मिता कार्कीको नाम लिएका थिए । उनीहरूकै कारण आफु आत्महत्या गर्न बाध्य भएको बताएका थिए । सोही भिडियोका आधारमा पक्राउ परेका तीनै जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।
अदालतमा भएको वहसमा सञ्चारमाध्यमलाई प्रवेश निषेध गरिएको थियो । सरकारी वकील तथा प्रतिवादीको तर्फबाट अधिवक्ताहरूले आ–आफ्नो तर्क अघि सारेका थिए । जसमा प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुशिल पन्त, सुशिल पोखरेल तथा अधिवक्ता चुडामणी सापकोटाले वहस गरेका थिए । उनीहरूले यो आत्महत्या दुरुत्साहन नभएको दाबी गर्दै जिल्ला न्यायाधीशसमक्ष तारेखमा रहेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिन आग्रह गरेका थिए । आज भएको वहसबारे चितवनमा आयोजित पत्रकार सम्मेलनमार्फत वरिष्ठ अधिवक्ता सुशिल पन्तले जानकारी गराएका छन् ।
नेपाल सरकारले थप अनुसन्धानको लागि भन्दै १० दिनको समय मागेको थियो । सिसिटिभीको हार्डडिस्क, डोरी किनेको ठाउँको भिडियोको वैज्ञानिक अनुसन्धान गर्नुपर्ने, भिडियोमा पुडासैनीले नाम उल्लेख गरेका न्यूज २४ का दीपक बोहराको बयान गर्नुपर्ने, भिसेरा रिपोट आउन वाँकी रहेको, पोष्टमाटमको रिपोर्ट हेर्न वाँकी रहेको जस्ता कारण देखाउँदै सरकारले १० दिनको समय मागेको थियो । तर यी सबै गर्नलाई थुनामा रहेका व्यक्तिलाई थप थुनामा राख्नुपर्ने कारण पेश गर्न सकेन् । त्यसपछि प्रतिवादीको तर्फबाट अधिवक्ताहरूले अहिले लागू भएको अपराध संहिताको दफा १४ ले थुनामा नराखेर पनि अनुसन्धान गर्न सकिने कुरा उल्लेख भएको भन्दै उनीहरूलाई रिहा गर्न माग गरेका थिए ।
उक्त कानूनले थुनामा राख्नुपर्ने अवस्थाको सिर्जना हुने कुनै ठोस आधार भएमात्र न्यायाधीशले उक्त समय समय दिन्छ । कुनै पनि व्यक्तिलाई थुनेर अनुसन्धान गर्ने तीन वटा कारण हुने कुरा न्यायाधीशसमक्ष पेश गरेका थिए । जसमा पहिलो नम्बरमा त्यो मान्छे भागिजाने हो भने, दोस्रो प्रमाण नष्ट गर्ने आधार रहेमा र कुनै पनि अपराधको मात्राले उक्त अभियुक्तले खुल्लमखुल्ला हिड्दा समाजमा डर त्रास वा मनोवैज्ञानिक असर पर्ने देखिएमा थुनामा राखेर अनुसन्धान गरिन्छ ।
तर भागेर जाने विषयमा भने रबि स्वयंले अनुसन्धान गर्नुपरेमा आफु कुनै बेला पनि आउँछु भन्दै आउनु भएको छ, त्यस्तो अवस्थामा उनलाई थुनामा राख्नुनपर्ने प्रतिवादीका अधिवक्ताहरूको तर्क थियो । प्रमाण नष्ट गर्ने विषयमा पनि कुनै प्रमाण नष्ट गर्न सक्ने अवस्था नरहेको उनीहरूको दावी थियो । तेस्रो बुदाको विषयमा यो मान्छेलाई थुन्दा वा छोड्दा त्यस्तो अवस्था आउने भन्ने कुरा त देशभर भइरहेको विरोध प्रर्दशनले देखाइरहेकोले उनीहरूलाई थुनामा राख्नुपर्ने कुनै आधार नरहेको बताएका थिए ।
प्रहरीको अनुसन्धान नै शंकास्पद देखिएको भन्दै उनीहरूले न्यायाधीशसमक्ष त्यसतर्फ पनि ध्यान दिन आग्रह गरेका थिए । हिरासतमा रबिलाई कुनै समस्या नरहेको उनीहरूले बताएका छन् । प्रहरीले अनुसन्धान गर्ने बाहेक अन्य वातावरण सामान्य रहेको उनका वकीलको भनाई छ । आजसम्म प्रहरीले पेश गरेको प्रमाणले यो हत्या नभई आत्महत्या हो भन्ने निष्कर्षमा पुगेको वरिष्ठ अधिवक्ता पोखरेलको भनाई छ । भिडियोमा भनेको आधारमा बनाईएका आधारमा आत्महत्या गर्छ भन्ने कुनै पनि प्रमाण नभएको उनको दावी छ । शालिकराम डिप्रेशनमा नभइ डिलुजनमा गएको पोखरेलले बताए । डिप्रेशनमा गएको व्यक्तिले आफैंलाई कमजोर सावित गर्दै आत्महत्या गर्ने तथा डिलुजनमा गएको व्यक्तिले अर्कोलाई आरोप लगाउने गरेको बताए ।
यस्तो अवस्थालाई हेर्दा शालिकरामले उनीहरूका कारण आत्महत्या नगरेको दाबी गरे । यदि यो अवस्थालाई नै आत्महत्या दुरुत्साहन मान्ने हो भने वर्षेनी ५ हजार बढी जना अपराधी हुने उनीहरुको तर्क थियो । आत्महत्या गर्ने व्यक्तिले कोही न कोहीलाई त आरोप लगाएरै जाने गरेको भन्दै सोही आरोपलाई आधार मान्दै कारवाही गर्ने हो भने भोली कोही पनि नबच्ने अधिवक्ता सापकोटाको भनाई छ ।
आत्महत्या दुरुत्साहन भनेको कोहीले आत्महत्या गर्नुभन्दा केही घण्टा पहिला मात्रै आरोप लगाएको हुनुपर्ने भन्दै यो प्रकरणमा त एक वर्ष अघिको विषय उठान गरेकोले यसलाई आत्महत्या दुरुत्साहन भन्न नमिल्ने उनको तर्क छ । बयानका क्रममा अस्मिताले पनि रबि र युवराजका कारण आत्महत्या नगरेको बताएकी छन् ।
वरिष्ठ अधिवक्ता पोखरेलका अनुसार अस्मिताले बयानको क्रममा रवि र युवराजलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएपछि मात्र चिनेको भनेकी छन् । जसका कारण अस्मिता र शालिकरामसँगको सम्बन्धमा रवि र युवराज नजोडिने बताए ।
सिधा कुरामा गएर तेरो बारेमा भनिदिन्छु भन्ने प्रशंगमा पोखरेल भन्छन्, ‘त्यो कुरा अस्मिताको दाईले शालिकरामलाई भनेका थिए । त्यसको जानकारी रविलाई छैन् । तर शालिकरामलाई के भयो भने ल अब यो त रबिकहाँ जाने भयो । मेरो सबै कुरा बाहिर ल्याईदियो भने मेरो बदनाम हुने भो भन्ने सोचेर शालिकरामलाई मनको बाघले खायो ।’
सार्वजनिक भिडियोको विषयमा पोखरेलले भने, ‘दुई वटा भिडियो छन् । ति दुवै भिडियो दुई घण्टाको फरकमा खिचिएको छ । पहिलो भिडियो खिचियो पज गरियो । दुई घण्टापछि अर्को भिडियो खिचियो । पहिलो भिडियो ४ बजेर १ मिनेटमा खिचिएको छ । भने अर्को दुई घण्टापछि ६ बजेतिर खिचिएको छ । त्यसले के देखियो भने अब म नरहने भए, अस्मिताको दाईले भने अनुसारको कुरा रविले बाहिर निकालिदिन्छन होला भन्ने डरमा रहे । उनले रबिसँग भेरिफाई पनि गरेनन् । किनकी न्युज २४ को जागिर छोडेर हिड्दा उनले रविलाई ढाटेर गएका रहेछन् । दाई म माउण्टेन टिभिमा मार्केटिङको काम गर्छु भन्दै हिडेका थिए । तर त्यहाँ गएर रविको जस्तै कार्यक्रम चलाउन थाले । त्यसपछि रविसँग कुरा गर्ने हिम्मत पनि गरेनन् । र उनलाई मनको बाघले खायो । डिलुजनका कारण रविलाई आरोप लगाउँदै त्यस्तो गर्न पुगे ।’ केन्द्रविन्दुबाट