क्रिकेटको राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल व्यक्तिगत कारणले टी २० प्रतियोगितामा नखेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले ओमानमा आयोजना हुने पाँच टिम सहभागी टि २० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा नखेल्ने बताउनुभएको छ ।
नेपाली क्रिकेट टिमका मिडिया म्यानेजर सुरज शाक्यले मङ्गलबार निकालेको विज्ञप्तिमा नेपालका प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्रले व्यक्तिगत कारणले गर्दा प्रतियोगितामा खेल्न नसक्ने उल्लेख छ । सो प्रतियोगिता आगामी अक्टोबर ५ देखि १० सम्म हुँदैछ । प्रतियोगितामाआयोजक ओमान र नेपालसहित हङकङ, आयरल्यान्ड र नेदरल्यान्ड् सामेल छन् ।
ओमानले यो प्रतियोगिता विश्वकप टि २०को अन्तिम चयन ग्लोबल छनोट प्रतियोगिताको तयारीस्वरुप आयोजना गरेको हो । नेपाल दोस्रो चरणबाटै विदा भइसकेको छ । तर अन्य चार राष्ट्र ग्लोबल छनोटको तयारीमा छ । नेपालका लागि भने यो दक्षिण एसियाली खेलकुदको तयारी हुने भएको छ । नेपाली क्रिकेट थिटम अहिले साग खेलकुदका लागि त्रिवि क्रिकेट मैदानमा अभ्यास गरिरहेको छ । सो अभ्यासमा ज्ञानेन्द्र पनि सहभागी हुनुहुन्छ ।
ज्ञानेन्द्र नेपालका लागि अन्तर्राष्ट्रिय टि२० मा सर्वाधिक तेज अर्धशतक लगाउने ब्याट्सम्यान हुनुहुन्छ । उहाँले मलेसियाविरुद्ध २० बलमै बनाएको अर्धशतक कीर्तिमानको रुपमा रहेको छ । ज्ञानेन्द्र विना नेपालले पहिलो पटक टि२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । सोमपाल कामीसँगै ज्ञानेन्द्र नेपालका लागि सवाृधिक टि२० खेल्ने क्रिकेटर पनि हुनुहुन्छ ।
गत महिना सिङगापुरमा भएको पाँच टिम सहभागी आईसीसी टि–२० विश्वकप एसिया फाइनल्स २०१९ मा ज्ञानन्द्र र कप्तान पारस खड्काको जोडी जमेपछि नेपालको ब्याटिङमा लामो समयदेखि देखा परेको प्रारम्भिक जोडीको समस्या हल भएको थियो । तर ओमानमा पुनः नेपालले नयाँ प्रारम्भिक जोडीको प्रयोग गर्नुपर्ने भएको छ ।
प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग अक्टोबर ६ तारिखमा खेल्नेछ । नेपालले अको दिन नेदरल्यान्ड्स, अक्टोबर ९ तारिखमा आयरल्यान्ड र अक्टोबर १० तारिखमा ओमानसँग खेल्नेछ ।