एडिलेडमा हुन लागेको ‘जुनियर वल्र्डकप २०१९’ मा भिजिट नेपालको प्रबद्र्धन गरिने !


एडिलेडमा आयोजना हुन लागेको अन्डर १० र अन्डर १२ जुनियर वल्र्डकप क्रिकेटमा सहभागिता जनाउन लागेको साउथ अष्ट्रेलिया नेपाल टिमले आफ्नो सहभागितासँगै नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्ने भएको छ । साउथ अष्ट्रेलिया नेपाल टिमको संयोजक एडीलेड नेप्लीज क्रिकेट एशोसिएसन एन्काले एनआरएन साउथ अष्ट्रेलियाको सहकार्यमा नेपालको पर्यटन प्रचार गर्न लागेको हो । प्रतियोगितास्थलमा प्राप्त हुने स्टलमा नेपाली परम्परागत सामग्रीहरु, नेपालका विभिन्न ठाउँको बारेमा परिचय दिने ब्रोसरहरुका साथै नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धनात्मक सामग्री राख्न लागिएको हो । 

एन्काका अध्यक्ष विजय जोशीले एमएनटीभीसँग भने, “कार्यक्रममा हामीले खेलको माध्यमबाट मात्र नभएर प्रिजेन्टेसन र समापन समारोहमा नेपाली कला, संस्कृति झल्कने नृत्यहरु समेत प्रस्तुत गर्ने तयारी गरेका छौं । केही औपचारिक कार्यक्रमको सञ्चालन नेपाली बालबालिकाहरुले नै गर्दैछन् । एउटा टिममा ६ बालक र ४ जना बालिका रहनेछन् । १० जनाको टिमले १२ ओभरको खेल खेल्नेछ । विहान ९ः४५ मा उद्घाटन समारोहसहित सुरु हुने उक्त कार्यक्रममा पहिलो खेल १० बजेबाट सुरु भई अपरान्ह ४ः३० बजे सकिनेछ । नेपालको पहिलो खेल विहान १० बजे पाकिस्तानविरुद्ध छ भने दोश्रो खेल ११ बजेर २० मिनेटमा भारतसँग हुनेछ । यस्तै तेश्रो खेल १ बजे श्रीलंकासँग छ । अन्तिम खेल नेपाल र अफगानिस्तानबीच २ बजेर २० मिनेटमा हुनेछ ।”

अध्यक्ष जोशीले खेलस्थल फिट्ज्रोय कम्युनिटी क्लबमा सेप्टेम्बर २२ तारिख आईतबार सहभागी भई नेपाली खेलाडीको उत्साह बढाउनुका साथै नेपालको पर्यटन प्रबद्र्धनमा समेत सहयोग गर्न आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?