ठगी आरोपमा विमानस्थलबाटै रुपज्योति पक्राउ परेपछि चेम्बर अफ कमर्श स्तब्ध


बिहीवार अमेरिकाबाट नेपाल आउँदै गर्दा पूर्व अर्थ सहायक मन्त्री तथा व्यापारी रुप ज्योति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । शुक्रवार रुप ज्योतिकी छोरी सुरुचि ज्योतिलाई पनि प्रहरीले पक्राउ गर्‍यो । महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं जिल्ला अदालतबाट ३ दिन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
विक्रम संवत् २०७१ सालमा ल्यान्डमार्क लेभलपर्स प्रालि नामको कम्पनीले बाँसबारीमा हाउजिङको लागि बुकिङ खुला गर्‍यो । बुकिङ खुला गरेपछि काठमाडौं महानगरपालिका–४ बालुवाटारका विज्ञेन्द्रकृष्ण मल्ल पनि हाउजिङको घरमा बस्ने योजना बनाएर ल्याण्डमार्कको हाउजिङको घर बुकिङ गर्न १० लाख रुपैयाँ बोकेर गए । 

उनीहरूले छुट्याएको जग्गामध्येको प्लट नम्बर १९ को क्षेत्रफल ०–६–३–२–२।१६ कित्ताको जग्गामा २ करोड १४ लाख १९ हजार ७ सय ५० रुपैयाँ तोकेको जग्गालाई कम्पनीले राखेको अग्रिम रकम १० लाख रुपैयाँ २०७१ जेठ २ गते शम्भुप्रसाद फुयाँललाई बुझाए । फुयाँल हाउजिङका घर बनाउने जिम्मा लिएको सीई कन्सट्रक्सनका अख्तियार प्राप्त व्यक्ति हुन् ।

सीई कन्स्ट्रक्सन र ल्यान्डमार्कबीच भएको सम्झौतामा सीईले हाउजिङ निर्माणदेखि बिक्री गर्नेसम्मको अधिकार राख्ने उल्लेख छ । नाफामा प्रतिशत बाँडेर लिने सम्झौता दुवै कम्पनीबीच भएको थियो ।

त्यसपछि फेरि ल्याण्डमार्कबाट जिम्मा पाएको सीई कन्सट्रक्सनलाई विज्ञेन्द्रले अन्तिम किस्ताको रुपमा २०७१ भदौ १७ गते १ करोड २६ लाख ७५ हजार गरी कुल १ करोड ३६ लाख ७५ हजार रुपैयाँ बुझाए ।

सीई कन्सट्रक्सनले विज्ञेन्द्रलाई किस्ता लिएको २ वर्ष भित्रमा डिजाइन अनुसारको घर बनाएर दिने जिम्मा लियो तर कम्पनीले सम्झौता अनुसारको घर निर्माण नगरी आलटाल गर्दै आयो ।

करीब २२ वटा घर निर्माण गर्ने हाउजिङका लागि सबै घर ‘बूक’ भइसकेका थिए । यसबीचमा २०७२ वैशाख १२ गतेको भूकम्पले काम प्रभावित भयो । १ वर्षसम्म त ठप्प भयो ।

भूकम्पको १ वर्षपछि अघि बढेको काम विक्रम संवत् २०७४ सालतिर अन्तिम चरणमा पुग्यो । जब घर निर्माण भइसकेर हस्तान्तरण हुनुपर्ने बेला आयो, त्यसपछि उनीहरूको नियतमा खोट देखियो ।

२ वर्षमा हस्तान्तरण गर्नुपर्ने घर ३ वर्ष हुँदासम्म पनि कम्पनीले घर नबनाउँदा विज्ञेन्द्रको मनमा चस्को पस्यो । उनले सञ्चालक मध्येका पद्म ज्योति, डा। रुप ज्योति र अख्तियार प्राप्त सीई कन्सट्रक्सनका प्रतिनिधि शम्भु प्रसाद फुयाँललाई भेटे तर उनीहरूले हाउजिङको काम ‘फाइनल’ हुन बाँकी छ भन्दै आलटाल गर्दै आए ।

यसबीच रुप ज्योतिले विज्ञेन्द्रलाई ‘म ठूलो व्यापारी हुँ । ठूला–ठूला मानिसहरू चिनेको छु । किचकिच नगर तिमीलाई ठीक पारिदिउँला’ भन्दै धम्की दिँदै आए ।

उद्योगपति रुप ज्योतिको गिरफ्तारीलाई लिएर नेपाल चेम्बर अफ कर्मसले आपत्ति जनाएको छ ।
शुक्रबार महानिर्देशक कैलाशकुमार बजिमयद्वारा प्रकाशित विज्ञप्तिमा कुनै पनि अपराध प्रमाणित नभएको अवस्थामा विदेश भ्रमणबाट स्वदेश फिर्ता भइरहेको अवस्थामा छोरी सूरुचिसहित पक्राउ पर्नाले मर्माहत भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कानुन परिपालनका क्रममा निजी क्षेत्रका उद्यमी, व्यवसासीलाई सम्मानजनक व्यवहार होस् भनेर चेम्बर अफ कर्मशले सम्बन्धित निकायसँग विशेष अनुरोध र आग्रह गर्दछु ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?