विद्यार्थीलाई आँशुमा डुबाउने ‘हुन्डीवाला’सँग पैसा फिर्ता गर्ने लिखित सहमति !


मेलबर्नका केही विद्यार्थीहरुले तीन महिनादेखि रोकिएको आफ्नो रकम फिर्ता पाउने भएका छन् । हुन्डीमार्फत नेपालमा पैसा पठाएका उनीहरुले आफ्नो रकम केही मात्रामा मात्रै पाएका थिए । तीन महिनासम्मको समय लागेर कतिपयले २५ प्रतिशत रकम नेपालमा पाएको, कतिपयले ‘भर्खरै हालिदिएको’ र कसैको अझै पनि शतप्रतिशत पाउन बाँकी रहेको लगायतका गुनासो आएपछि यस विषयमा एक छलफलको आयोजना गरिएको थियो ।

 

भिक्टोरियास्थित महावाणिज्यदूतको कार्यालयमा आयोजना गरिएको यो छलफल कार्यक्रममा रकम पठाउने हुन्डीवालासँग आगामी जनवरीको १० तारिखभित्र सबै रकम फिर्ता गर्ने र आगामी दिनमा यस किसिमको गुनासो आउन नदिने लिखित सहमति भएको छ । यसअघि पनि पटक पटक गुनासो आउने गरेको भन्दै उपस्थित भएका समूदायका अगुवाहरुले विद्यार्थीहरुको आँखामा आँशु आउने कार्य स्वीकार्य नभएको बताए । “विद्यार्थी उसै त घर परिवारदेखि टाढा हुन्छन् त्यसमाथि पनि यस किसिमले आफ्नै समूदायका सदस्यले ठगी गर्नुले झन मर्माहत बन्ने” एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले बताए । 

महावाणिज्यदूत चन्द्र योन्जनले यो विषय महावाणिज्यदूत कार्यालयको जानकारीमा आइसकेपछि छलफल राखिएको र कुनैपनि अवस्थामा विद्यार्थी लगायतको पैसा फिर्ता गर्नुपर्ने अडान राखेका थिए । कार्यक्रममा उपस्थित न्याभका अध्यक्ष तारा गैरे, अभियन्ता दिपा राई, एमएनटीभीका प्रधान सम्पादक चिरञ्जीवी देवकोटा, एनआरएनका उपाध्यक्ष प्रेम कँडेलले अष्ट्रेलियामा क्यासमा लिएको रकम, नेपालमा पठाउन पनि यस्तो समस्या हुने भए पेशा नै छोड्नु उपयुक्त हुने सुझाव उक्त हुन्डीवालालाई दिएका थिए । आगामी दिनमा पनि यस्तै घटना दोहोरिए यसले प्रहरी कारवाहीको रुप लिन सक्नेतर्फ पनि उनीहरुले सचेत गराएका थिए । उक्त अवसरमा उपस्थित भएका विद्यार्थीहरुले अत्यन्त विषम परिस्थितिमा नेपालमा पठाएको पैसा यसरी ढिलो गरिदिने, आंशिक रुपमा दिने अनि तीन महिनासम्म निरन्तर फोन गर्दाको मानसिक तनाव हिसाब गर्न नसकिने खालको भएको बताए । उनीहरुले हात जोडेर हुन्डीवालालाई भने, “पैसा सबै कुरा होइन । हामीलाई जस्तै आँशुमा डुबाउने काम अब प्लीज नगर्नुहोला ।”

 

के भने उक्त छलफलमा सहभागी विद्यार्थी र एनआरएन तथा न्याभका पदाधिकारीहरुले ? यहाँ हेर्नुहोस् :

अष्ट्रेलियामा अस्ट्राकमा दर्ता भई नेपालमा विदेशमा पैसा पठाउने मनी ट्रान्सफरको काम त गर्न पाइन्छ । तर, यसरी पठाएको रकम नेपालमा हुन्डी मार्फत वितरण गर्न भने पाइँदैन । नेपालमा हुन्डी अवैध छ । फेसबुक लगायतको सामाजिक सञ्जालको प्रयोग गरी केही रकम बढी दिने प्रलोभन दिएर लाखौं डलर यसरी अनौपचारिक च्यानलबाट नेपाल जाने गरेको बताइन्छ ।

 

Editor’s Note : निज हुन्डीवालासँग गरिएको लिखित सहमति एमएनटीभीसँग सुरक्षित छ । उनले सहमति अनुसार रकम फिर्ता नगरे, आगामी दिनमा पनि यस्तै खाले गुनासो लगातार आइरहे हामी त्यो लिखित सहमति सार्वजनिक गर्न बाध्य हुनेछौं । साथै, नेपाली समूदायकै एक सदस्य रहेका कारण निज हुन्डीवालाको नाम हामीले यहाँ सार्वजनिक गरेका छैनौं । कुनैपनि व्यक्ति या कम्पनी यहाँ अष्ट्रेलियामा दर्ता भई आर्थिक कारोबार गरिरहेको हो कि होइन जाँच्नका लागि यो लिंक AUSTRACK >> CLICK HERE मा थिच्नुहोस् र त्यहाँ कम्पनी या व्यक्तिको नाम सर्च गर्नुहोस् । यसले तपाईंको पैसालाई केही मात्रामा सुरक्षित गर्न मद्दत गर्नेछ । नेपालमा पैसा पठाउँदा आधिकारिक रुपमा काम गरिरहेका मनी ट्रान्सफरहरुबाट या बैंकबाट नै सिधै पठाउँदा राम्रो ।

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?