बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरी ३ लाख धरौटीमा रिहा


बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरी ३ लाख रुपैयाँ धरौटीमा रिहा हुने भएका छन्।

पक्राउ परेलगत्तै विराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स क्याबिन नम्बर ५ मा रहँदै आएका गिरीलाई धरौटीमा रिहाका लागि जिल्ला अदालत सुनसरीले आदेश दिएको हो। न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई धरौटीमा रिहाको आदेश दिएको हो।

गत कार्तिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको थियो। मंसिर दोस्रो साता उनीविरुद्ध किटानी जाहेरी परेको थियो। बलात्कार भएको भन्दै महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यहाँ उजुरी लिन नमानेको भन्दै उनले काठमाडौं आएर केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दिएकी थिइन्। केन्द्रले उनको केस जिल्लाबाट नै हेर्न निर्देशन दिएको थियो।

तर, गिरीले आफूलाई षडयन्त्रमा पारिएको दाबी गर्दै आएका थिए। 

उनीविरुद्ध प्रहरीले जिल्ला अदालतबाट पक्राउ पूर्जी ल्याएको थियो। उनलाई प्रहरीले अस्पतालबाटै नियन्त्रणमा लिएको थियो। राजनीतिक कनेक्सनसमेत भएका कारण उनीविरुद्धको उजुरीमा प्रहरी सुरुमा हच्किएको थियो।

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका गिरीका च्याट र म्यासेजहरु सार्वजनिक भएका थिए। तर, दुर्व्यवहारको आरोप लगाउने महिलालाई देख्तै नदेखेको दावी गर्दै उनले आफ्नो नामको फेसबुक कार्यालयका सहयोगीहरूले सञ्चालन गर्ने र त्यसका बारेमा जानकारी दिने गरेको दावी गर्दै आएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?