मेलबर्नको फेडरेसन स्क्वायरमा उभिएर नेपालीले गरे भ्रमण वर्ष २०२० को सुरुवात


अष्ट्रेलियाको मेलबर्नमा बस्ने नेपालीहरुले चर्चित फेडरेसन स्क्वायरमा जम्मा भएर भिक्टोरियावासीलाई नेपाल भ्रमणको निम्तो दिँदै भ्रमण वर्ष २०२० को सुरुवात गरेका छन् । नेपालमा औपचारिक उद्घाटन हुनु केही घण्टा अघि नै उनीहरुले व्यानर र पोष्टरसहित भेला भएर नयाँ वर्ष २०२० का बिदाका लागि त्यहाँ आएका विदेशी पर्यटकहरुलाई नेपालको विषयमा जानकारी गराए । एनआरएन अष्ट्रेलिया, न्याभ, महावाणिज्यदूतको कार्यालय र नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले नेपाल भ्रमण वर्षको सफलताको कामना गरेका थिए ।

उक्त अवसरमा एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले दूतावाससँगको सहकार्यमा वर्षभरि नै विभिन्न कार्यक्रम जारी राख्ने प्रतिबद्धता जनाए । यसैगरी न्याभका अध्यक्ष तारा गैरेले पनि हातेमालो गरेर यो महाअभियानमा सहकार्य गर्ने बताए । उक्त अवसरमा जनसम्पर्क समिति अष्ट्रेलिया मेलबर्नका कार्यवाहक अध्यक्ष विनित शर्मा, प्रवासी नेपाली एकता मञ्चका राम रानाभाट, चितवन समाज भिक्टोरियाका अध्यक्ष आत्मा रिजाल, एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष टोनु घोताने, केइसी नेपाली समाजका अध्यक्ष लालप्रसाद कँडेल लगायतले देशको यो अभियानमा हातमा हात मिलाउँदै अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । फेडरेसन स्क्वायरमा गरिएको कार्यक्रममा युवा विद्यार्थीहरुको पनि सहभागिता थियो । उक्त अवसरमा उपस्थित अष्ट्रेलियन र अन्य मूलका विदेशी नागरिकहरुले नेपालको विषयमा चासो व्यक्त गरेका थिए भने कतिपयले आफ्नो नेपालको अनुभव ताजा गर्ने अवसर पाएको बताएका थिए । पर्यटकहरुलाई नेपालको सगरमाथा, पाटन दरबार स्क्वायर, पशुपतिनाथ मन्दिर लगायतको पोष्टर र भ्रमण जानकारी पुस्तिका पनि वितरण गरिएको थियो । कार्यक्रमका सहभागी सबैले नेपाल भ्रमण वर्षको लोगो अंकीत टिसर्ट लगाएका थिए । कार्यक्रममा धन्यवाद मन्तव्य दिँदै नेपाल पर्यटन बोर्डका भिक्टोरिया प्रतिनिधि चिरञ्जीवी देवकोटाले नेपालका विमानस्थलमा हालै भएको सुधारको चर्चा गर्दै नेपालमा एक पटक पुगेको पर्यटकले राम्रो अनुभव गरी अरुलाई पनि त्यहाँ जान प्रोत्सहित गर्ने वातावरण बताउनुपर्ने बताएका थिए । कार्यक्रममा एनआरएनको महिला फोरम नारी निकुञ्ज, युथ फोरम लगायतको सक्रियता देख्न सकिन्थ्यो । मन्तव्य कार्यक्रमको सञ्चालन एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं भिक्टोरिया संयोजक प्रेमप्रसाद कँडेलले गरेका थिए । 

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?