“२०२० मा अष्ट्रेलियाबाट एक लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यमा साथ दिनुस्” : पर्यटनमन्त्री भट्टराई
– किरण खनाल/ब्रिसबेन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक नेपाल लैजाने वातावरण बनाउने अभियानमा साथ दिन आग्रह गरेका छन् । आईतबार ब्रिसबेन आइपुगेका मन्त्री भट्टराईले प्रवासी नेपाली एकता मञ्च क्वीन्सल्याण्डले आयोजना गरेको सम्बृद्धि सम्वाद कार्यक्रममा यस्तो आग्रह गरेका हुन् । अन्तरक्रियामा बोल्दै मन्त्री भट्टराईले जनवरी १ मा नेपालको राजधानी काठमाडौंसहित सातै प्रदेशमा पर्यटन वर्षको भव्य शुभारम्भ भइसकेको भन्दै ७ तारिखमा अन्तर्राष्ट्रियस्तरमा नेपाल भ्रमण वर्षको सुरुवात गर्न आफु यहाँ आएको बताए ।
उनले अरुको देशमा पुगेर त्यहाँ विभिन्न क्षेत्रमा सफल बनेका नेपालीहरु अब नेपाल फर्किएर देश विकासमा लाग्नुपर्ने धारणा पनि राखे । उनले नेपालको विकासदर ७ प्रतिशतभन्दा माथि रहेको भन्दै शिक्षा, स्वास्थ्य लगायतमा देशले नयाँ उचाई प्राप्त गरेको बताए । उनले सडक यातायातको निर्माण तिव्रताका साथ हुँदै गरेको र केहीबाहेक सबै गाउँ विकास समितिहरु सडक सञ्जालमा जोडिइसकेको जानकारी दिए । नेपालमा केही पनि हुँदैन भन्ने हिजोको भनाई यतिबेला गलत सावित भइसकेको बताए । नेपालमा ठूला परियोजना पनि समयमा सम्पन्न भइरहेको कारण उत्साह थपिएको बताए । विदेशमा बस्ने गैरआवासीय नेपालीले आफू बस्ने देशका साथीलाई नेपाल भ्रमण गर्न प्रेरित गर्नुपर्ने मन्त्री भट्टराईको आग्रह थियो ।
सन् २०१९ मा ३८ हजार २ सय पर्यटकले नेपालको भ्रमण गरेको तथ्यांक प्रस्तुत गर्दै भ्रमण वर्षमा यो एक लाख बनाउनुपर्ने लक्ष्यमा साथ दिन आग्रह गरे । मन्त्री भट्टराईले दुई देशबीचको पछिल्लो हवाई सम्झौताले नयाँ सम्भावना खोल्ने बताउँदै यो भ्रमणको क्रममा सिधा उडानका लागि यहाँको सम्बन्धित निकायमा अनुरोध गर्ने बताए । अष्ट्रेलिया यतिबेला डढेलोको प्रकोपका कारण पीडामा रहेको विषयमा आफु जानकार रहेको भन्दै नेपाल सरकारको तर्फबाट अष्ट्रेलियन सरकारलाई यो दुखद घडीमा पर्यावरणमा भएको विनास र मानवीय क्षतिप्रति गहिरो सहानुभूति व्यक्त गरेका थिए ।
कार्यक्रममा क्वीन्सल्याण्डका लागि अवैतनिक नेपाली महावाणिज्यदुत जोय टोमा, प्रवासी नेपाली मञ्चका पूर्वअध्यक्ष जगदिश तिमल्सिना, प्रवासी नेपाली मञ्चका उपाध्यक्ष रमेश पौडेल, प्रवासी नेपाली मञ्च क्वीन्सल्याण्डका अध्यक्ष विवेक अर्यालले स्वागत मन्तव्य राखेका थिए । उक्त अवसरमा नेपाल पर्यटन बोर्डका क्वीन्सल्याण्ड प्रतिनिधि स्वतन्त्रप्रताप शाह, जनसम्पर्क समिति क्वीन्सल्याण्डका अध्यक्ष अभिमन्यु बस्नेत, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष उमेश खड्का, एनआरएन अष्ट्रेलियाका पूर्व उपाध्यक्ष अभिमानसिंह बस्नेतलगायत उपस्थित थिए । मन्त्री भट्टराई ७ तारिख सिड्नीमा आयोजना हुने नेपाल भ्रमण वर्षको अन्तर्राष्ट्रिय शुभारम्भ कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया आएका हुन् ।