अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको शुभारम्भ, साँझ पार्लियामेन्टमा विदेशीसँग मन्त्री भट्टराई !


नेपाल भ्रमण वर्ष २०२० को अष्ट्रेलियामा शुभारम्भ गरिएको छ । वैदिक मन्त्रोच्चारणसहित रिबन काटेर अष्ट्रेलियाको न्यूसाउथवेल्सका सभामुख जोनाथन बडी, पूर्वप्रिमियर नाथन रिज र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संयुक्त रुपमा उद्घाटन गरे । नेपालको पर्यटन वर्षको लोगो अंकीत टिसर्ट लगाएर गैरआवासीय नेपाली संघ अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिको संयोजकत्वमा विभिन्न अन्य संघ संस्थाका प्रतिनिधिहरु र सर्वसाधारण नेपाली पनि कार्यक्रममा सहभागी भएका थिए । सिड्नीको ओपेरा हाउस नजिकैको सर्कुलरकीमा आयोजना गरिएको औपचारिक कार्यक्रममा बोल्दै मन्त्री योगेश भट्टराईले नेपालको समबृद्धिको सारथी बनी पर्यटक वर्ष सफल बनाउन सबै लाग्नुपर्ने धारणा राखेका थिए ।
यस्तो थियो उद्घाटन सत्र हेर्नुहोस् भिडियो

के हो ओपेरा हाउसको विवाद ?

एक घण्टाका लागि राखिएको पूर्वनिर्धारित उद्घाटनको कार्यक्रम सकिएपछि मन्त्री योगेश भट्टराईलाई केही व्यक्तिहरुले विश्वप्रसिद्ध ओपेरा हाउस र हार्वर ब्रिजको सामुन्ने बसेर फोटो खिच्ने भन्दै त्यसतर्फ लगेका थिए । करिब ५ सय मिटर अघि बढ्दा मन्त्रीसँग फोटो खिच्ने, सेल्फी खिच्न खोज्ने लगायत करिब ३ सय जनाभन्दा बढीको भीड त्यहाँ देख्न सकिन्थ्यो । कार्यक्रममा सहभागी हुन आएका बेला बोकेको नेपालको झण्डा, अष्ट्रेलियाको झण्डा, यहाँको डढेलो पीडितका लागि सहयोग माग्दै बोकेको चन्दा बाकस उनीहरुसँगै थियो । मिडियाले पनि लाईभ गरिरहेकै थिए । ओपेरा हाउस सार्वजनिक स्थल भएको र यहाँ कुनैपनि सामूहिक गतिविधि गर्नुअघि पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था हुन्छ । कुनै र्यालीको लागि अनुमति नलिएको अवस्थामा मानिसहरु त्यसतर्फ आउँदा ओपेरा हाउसका सेक्युरिटी गार्डले रोकेका थिए । यसपछि मन्त्री भट्टराई र अन्य सहभागीहरु ओपेरा हाउस र हार्बर ब्रिज अगाडि उभिएर केही तस्वीर लिए । पर्यटनमन्त्री भट्टराईले अष्ट्रेलियनहरुलाई नेपाल भ्रमण गर्न आग्रह गरेका थिए ।

साँझ पार्लियामेन्टमा गाला डिनर

विश्वभरका नेपालको कुटनीतिक सम्बन्ध स्थापित भएका देशहरुको दूतावासले एकै पटक जनवरी ७ तारिखका दिन नेपाल भ्रमण वर्षको शुभारम्भ आयोजना गर्ने क्रममा मन्त्री भट्टराई अष्ट्रेलिया आएका हुन् । नेपाली दूतावास र न्युसाउथवेल्स स्थित महावाणिज्यदुतको कार्यालयको संयूक्त आयोजनामा मंगलबार साँझ न्यूसाउथवेल्सको संसद भवनमा आयोजना गरिएको एक रात्रिभोज कार्यक्रममा दुई सयभन्दा बढी अतिथिकाबिच नेपालको कैयौं पटक भ्रमण गरेका क्रिस वाकर, सरकारी निकायका पदाधिकारीहरु, ट्राभल एजेन्ट लगायतको उपस्थितिमा गाला डिनर आयोजना गरिएको थियो । उक्त अवसरमा बोल्दै मन्त्री भट्टराईले सबैलाई धन्यवाद दिएका थिए ।

हेर्नुहोस् भिडियो

दुबै देशको राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा डढेलो प्रभावित भई ज्यान गुमाउनेहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?