पहिलो न्याभ एकदिवसीय मल्टिकल्चरल फुटबल प्रतियोगिता शनिबार
अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुको साझा संस्था नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभको आयोजनामा एकदिवसीय बहुसांस्कृतिक फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय नेपाली क्लब रोयल वेष्टर्न क्लबको सहकायमा गर्न लागिएको यस बहुसांस्कृतिक प्रतियोगितामा भिक्टोरियाको बहुसांस्कृतिक आयोगले आर्थिक सहायता उपलब्ध गराएको छ । समूदाय समूदायबीचको भाइचारा अभिबृद्धिको लागि प्रतियोगता गर्न लागिएको हो । शनिबार २२ फेब्रुअरीका दिन केलोर पार्क सकर क्लबमा बिहान ८ बजेदेखि सुरु हुने प्रतियोगिता दिनभर चल्नेछ । प्रतियोगितामा विभिन्न समूदायका ८ क्लबको सहभागिता छ । न्याभका अध्यक्ष तारा गैरेले धेरैभन्दा धेरै भिक्टोरियावासी नेपालीलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरे । उनले भने, “भिक्टोरियाको बृहद बहुसांस्कृतिक परिवारको एक हिस्साको रुपमा यो प्रतियोगिता हामीले आयोजना गर्न पाउनु खुशीको कुरा हो । नेपाली समूदायको ठूलो सहभागिताले आगामी दिनको यस किसिमको कार्यक्रमहरुको लागि हौसला प्रदान गर्नेछ ।” रोयल वेस्टर्न क्लबका अध्यक्ष बम योन्जनले आफ्नो क्लबले न्याभको यस कार्यक्रममा सहकार्य गर्न पाउदा खुशी लागेको प्रतिक्रिया दिए । प्रतियोगितामा फुटबल खेल मात्र नभई बालबालिका र युवाहरुकालागि विविध क्रियाकलाप पनि सञ्चालन गरिने भएको छ । बालबालिकाहरुको लागि फेस पेन्टिङ, किड्स फन लगाएत अन्य रमाइला कार्यक्रमहरु समावेश छन् ।