कोरोनाबाट सतर्क रहन दूतावास एनआरएनको आग्रह, सिड्नी र ब्रिसबेनको म:म: फेष्टिभल स्थगित
अष्ट्रेलियामा कोरोना संक्रमितहरु भेटिने क्रम बढेपछि नेपाली राजदूतावास क्यानबेराले एक अपील जारी गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले संक्रमित बिरामीको सम्पर्कमा नआउने, राज्य सरकारहरुको स्वास्थ्य निकायहरुले जारी गरेको निर्देशनहरुलाई पालना गर्दै अनावश्यक भीडभाड नगर्ने, भीडभाडका कार्यक्रम आयोजना नगर्ने, सार्वजनिक यातायातमा हिंड्दा सुरक्षिक मास्कको प्रयोग गर्ने, हाछ्यू गर्दा या खोकी लाग्दा रुमाल या टिस्यु पेपरले मुख छोप्न, फोहर हातले नाक, मुख र आँखा नछुने, पटक पटक साबुन पानील हात धुने र स्यानिटाईजर प्रयोग गर्ने, सकेसम्म हात नमिलाउने, अंकमाल नगर्ने आदि सतर्कता अपनाउनु आग्रह गरेको छ । दूतावासको सेवा लिनका लागि पनि आफैं आउनुपर्ने अत्यावश्यक काम बाहेक सबै द्रूत डाक सेवा मार्फत गर्न पनि आवश्यक सुझाव दिइएको छ । यात्रालाई सकेसम्म कम गर्न पनि सुझाव दिइएको छ ।
एनआरएनले पनि भन्यो भीडभाड नगरौ
यसैबीच गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले एक विज्ञप्ति जारी गर्दै कोरोनाको संक्रमणबाट बच्न अति सतर्कताका लागि अनुरोध गरेको छ । संस्थाले सन्देह लागे तत्कालै डाक्टरको सल्लाह लिन र उनीहरुको सल्लाह शतप्रतिशत पालना गर्न पनि भनेको छ । कुनै कार्यक्रममा सहभागी हुँदा विशेष सतर्क बन्न र नेपाली संघ संस्थाहरुले पनि धेरै जमघट हुने कार्यक्रम गर्दा विशेष ध्यान दिन एनआरएनले अपील गरेको छ ।
होबार्टका नेपालीको स्वास्थ्य सुधार
कोरोना संक्रमित भएका होबार्ट निवासी एक नेपाली युवाको स्वास्थ्य सुधार हुँदै गएको छ । नेपाली दूतावास क्यानबेराका अनुसार उनको रोयल होबार्ट अस्पतालमा उपचार भइरहेको छ । दूतावासले भनेको छ, निजको अवस्था सामान्य एवं सुधारोन्मुख रहेकोले निजको बारेमा विभिनन सामािजक सञ्जालमा आएका टिका टिप्पणी तथा समाचारले मनोवैज्ञानिक असर पार्नसक्ने तथा निजको व्यक्तिगत र पारिवारिक गोपनीयता समेत भंग हुनसक्ने भएकोले त्यसप्रकारको टिकाटिप्पणी नगर्न र उनलाई यो संक्रमणबाट सुरक्षित बाहिर आउने मनोबल प्रदान गर्न आग्रह गरिएको छ ।
यसैबीच, नेपाली सोसाईटी अफ तास्मानियाकी सभापति पुनम पन्तले एक विज्ञप्ति जारी गर्दै सचेत रहन आग्रह गरेकी छिन् । उनले होबार्टमा एक नेपालीमा संक्रमण देखिनु दुःखद भएपनि निजको उपचारमा सम्पूर्ण समूदायले सकारात्मक सोच राख्न आवश्यक रहेको उनको भनाई छ ।
सिड्नी र ब्रिसबेनको मम फेष्टिभल स्थगित
यसैबीच, कोरोनाको सामाजिक सन्त्रासकै कारण अष्ट्रेलियाको नेपाली समूदायमा लोकप्रिय एक कार्यक्रम स्थगित हुन पुगेको छ । मम फेष्टिभलका रुपमा चर्चामा रहेको कार्यक्रमको सिड्नी र ब्रिसबेनका संस्करण स्थगित गरिएको आयोजक सोलांगचरले जनाएको छ । यस्तै मेलबर्नको कार्यक्रमका विषयमा पनि काउन्सिलसँग छलफल चलिरहेको निर्देशक राजु शाक्यले बताए । जनस्वास्थ्यको विषयमा सचेत बन्दै यस्तो निर्णय गरिएको धारणा राखे ।