नेपाल सरकारको कोरोना राहत कोषमा घले दम्पत्तिबाट तीन करोड सहयोग !


अष्ट्रेलियाका अर्बपति व्यवसायी शेष घले तथा उनीकी श्रीमती जमुना गुरुङले कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ सहयोग गरेका छन् । उनीहरुले एमआईटी ग्रुप फाउण्डेसनमार्फत सरकारले गठन गरेको कोषमा सहयोग गरेका हुन् । घले गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष समेत हुन् । आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् ।

‘यात्रामा भइरहेको अवरोधका कारण आफूहरु स्वयं उपस्थित हुन नसके’को भन्दै फाउण्डसेनका अध्यक्ष शेष घलेले वक्तव्य जारी गरेर सहयोगको जानकारी गराएका छन् ।

सहयोग रकमको चेक हस्तान्तरण गरेपछि जारी विज्ञप्तिमा घले दम्पत्तिले यो रकम नेपाल सरकारले कोरोना नियन्त्रण र निमूलका लागि परीक्षण, निगरानी र उपचारका लागि सदुपयोग गर्ने अपेक्षा पनि गरेका छन् । उनीहरुले यसअघि नेपालमा आइपरेका ठूला विपतहरु भूकम्प, नाकाबन्दी तथा बाढीका बेलामा पनि फाउन्डेसनले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिँदै कोरोना संक्रमितको संख्यालाई नियन्त्रणमा राख्न नेपाल सरकार र नेपालीले खेलेको भूमिकाको सराहना समेत गरेका छन् ।
उनले भनेका छन्, “देश तथा देशवासीहरु हरेक दुःख तथा समस्याका घडीमा हामी सदैव आफुले सकेको सहायताको लागि तत्पर रहनेछौं । हाम्रो सहयोग यो विश्व संक्रमण र महामारीको लडाईविरुद्धको सानो ईकाई मात्र हो ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?