विदेशबाट फर्कनेलाई क्वारेण्टीनमा राख्न होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने
काठमाडौं, जेठ ९
विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेण्टीन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ । शहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेण्टीन बनाउनेबारे आवश्यक परामर्श थालिएको बताए ।
उनका अनुसार हाल काठमाडौँ उपत्यकामा ५१८ शैया तयारी अवस्थामा छन् । देशभर भने झण्डै ६५ हजार क्वारेण्टीन तयारी अवस्थामा रहेकामा २५ हजार नागरिक क्वारेण्टीनमा छन् ।
देशभर क्वारेण्टीनको अनुगमन र सहजीकरणको जिम्मेवारीमा रहेकाले राज्यमन्त्री मानन्धरले देश सङ्कटमा परेका बेला ठूला होटललाई क्वारेण्टीनका रूपमा व्यवस्थापन गर्न सरकारले पहल थालिरहेको बताउँदै यसमा व्यवसायीबाट आवश्यक सहयोगका अपेक्षा गरे ।
राज्यमन्त्री मानन्धरका अनुसार हाल खाली रहेका होटललाई निश्चित रकम तिरेर सरकारले नागरिकको जीवनरक्षाका लागि प्रयोग गर्न सक्ने छ । विदेशमा विपदमा परेका नेपाली नागरिकलाई सरकारले उद्धार गरी ल्याएको अवस्थामा काठमाडौँ उपत्यकामा आवश्यक क्वारेण्टीनका लागि पूर्वतयारी गरिएको बताउँदै खाडी मुलुकमा श्रमका लागि गएका नागरिक सरकारको प्राथमिकतामा रहेको स्पष्ट गरे ।
हवाईमार्ग भएर फर्कनेका लागि उपत्यकामा अस्थायी क्वारेण्टीन बनाइने र सम्बन्धित स्थानीय तहमार्फत व्यवस्थापन गरिनेबारे सरकारले छलफल गरिरहेको राज्यमन्त्री मानन्धरले जानकारी दिए ।
केही स्थानमा क्वारेण्टीन व्यवस्थापनमा कमजोरी देखिएको बताउँदै राज्यमन्त्री मानन्धरले तत्काल सुधारका लागि सरकारले आवश्यक समन्वय गरिसकेको जानकारी दिनुभयो । क्वारेण्टीनव्यवस्थापनको खर्च सङ्घीय सरकारले व्यहोर्ने बताउँदै राज्यमन्त्री मानन्धरले निर्धक्क भएर व्यवस्थापनमा लाग्न देशभरका स्थानीय सरकारलाई आग्रह गरे।
कार्यक्रममा अनुगमन तथा सहजीकरणको जिम्मेवारीमै रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले सरकारले बनाएको मापदण्ड अनिवार्य रूपमा पालना गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो दार्चुला, बाँके, बर्दिया, जुम्ला, बाजुरा, पर्सा, कैलाली र कञ्चनपुरलगायत जिल्लामा भारतबाट आउने नागिरकको व्यवस्थापनमा समस्या देखिए पनि राज्यमन्त्री रावतले व्यवस्थापनमा कमजोरी हुन नदिइने बताए।