आज १३ ‌औं गणतन्त्र दिवस,प्रधानमन्त्रीले देशबासीको नाममा शुभकामनासहित सम्बोधन गर्ने


काठमाडौं । आज १३ औँ गणतन्त्र दिवस । कोरोनाको प्रकोप र लकडाउन भएकाले यस वर्षको गणतन्त्र दिवस भव्य समारोह र तामझाम नगरी मनाउने सरकारले निर्णय गरेको छ ।

 

सरकारले यस वर्ष तीनै तहका सम्पूर्ण सरकारी कार्यालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगमा तीन दिन दीपावलीमात्रै गरेर गणतन्त्र दिवस मनाउने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।

 

अघिल्ला वर्षमा सरकारले राष्ट्रपतिको उपस्थितिमा राजधानीको सैनिक मञ्चमा भव्य समारोह गरी गणतन्त्र दिवस मनाउने गर्थ्यो । प्रदेश राजधानी, जिल्ला सदरमुकाम र सबै स्थानीय तह र विदेशस्थित सबै नेपाली कूटनीतिक नियोगहरूमा समेत भव्य उत्सव र कार्यक्रम गरी तामझामका साथ गणतन्त्र दिवस मनाइन्थ्यो ।

 

गणतन्त्र दिवसका अवसरमा आज बिहान ९ बजे प्रधानमन्त्री केपी ओलीले सञ्चारमाध्यमबाट शुभकामनासहित देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रममात्र रहेको जानकारी गृह मन्त्रालयले जानकारी दिएको छ ।

 

संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ ।

 

आज झन्डै २ सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिन हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?