मेलबर्नमा ठग हुन्डीवालाको विगविगी, विद्यार्थीहरु पहिलो निशानामा !


अष्ट्रेलियाको मेलबर्नमा नेपालमा पैसा पठाइदिने र नेपालबाट पैसा ल्याइदिने नाममा विद्यार्थी ठग्ने क्रम बढेको छ । यसअघि दुईवटा ठगीका काण्ड सार्वजनिक भएर पनि खासै कारवाही हुन नसकेका कारण यस्तो घटना बढ्दै गएको हो । पछिल्लो समय स्थानीय क्रेगीबर्नमा बसोबास गर्दै आएका एक केसी थरका हुन्डीवालाले विद्यार्थीलाई लक्षित गरी हजारौं डलर ठगी गरेका छन् । निजले विद्यार्थीहरुका लागि सञ्चालित विभिन्न पेजमा गई नेपालबाट पैसा ल्याउन लागेको भन्दै यहाँका विद्यार्थीलाई नेपाल पैसा पठाउने हो भने हामी एक्सचेन्ज गरौं भनेर ठगी गरेको पाइएको छ । 

निजले नेपालबाट पैसा ल्याउनका लागि सामाजिक सञ्जालमा आउने पोष्टमा उल्लेखित व्यक्तिहरुलाई सम्पर्क गरी आफुले यहाँ पैसा दिने उता आफुलाई दिनु भन्दै ठग्ने गरेका छन् । एमएनटीभीको सम्पर्कमा आएका भर्खरै ठगिएका एक विद्यार्थीले यही ठगीका कारण आफुले कलेजका शुल्क तिर्न नसकेको कारण आत्महत्या गर्नेसम्मको मनस्थितिमा पुगेको बताएका छन् । विभिन्न सामाजिक अभियन्ताहरुको दबाबबीच निजले चेक जम्मा गरिदिएको भएपनि उक्त चेक क्लीयर हुनेमा कसैलाई विश्वास छैन । निज विद्यार्थीका आफन्त भन्छन्, “यसअघि पनि १२ हजार डलरको चेक हालेको थियो । त्यही यसरी एटीएमबाट चेक जम्मा गर्दा खातामा पैसा देखाउँछ । तर, जब यो क्लीयर हुन्न तब उल्टो जरिवाना समेत लाग्छ । यस्तै भयो । निजले नक्कली चेक जम्मा गर्ने गरेको छ । हामीले यहाँ पैसा जम्मा भयो भन्ने ठानेर नेपालमा पैसा दियौं । नेपालको पैसा गयो, यहाँ पैसा आएन ।”

तपाईं निज व्यक्तिबाट ठगिनुभएको छ ? अथवा यस्तै हुन्डीको नाममा ठगीमा पर्नुभएको छ । कृपया हामीलाई सम्पर्क गर्नुहोस्  Call -1300 826 966

विगत लामो समयदेखि ठगी धन्दा गर्दै आएको निजले सिड्नी, मेलबर्न, ब्रिसबेन, होबार्ट, क्यानबेरा लगायतका ठाउँमा ठगी गरेको उजुरी एमएनटीभीसँग आइपुगेको छ । आफुहरुले रकम जम्मा गरेको, निजले पैसा नदिएको लगायतका प्रमाण लिएर आइपुगेका पीडितहरुले प्रहरीमा उजुरी गर्दा पनि तदारुकताका साथ कारवाही हुन नसकेको बताएका छन् । सामाजिक संघसंस्था, दूतावासमा पनि यो मुद्दा पुगेको छ । उनीहरुले घटनाबारे बुझ्ने काम गरिरहेका छन्, एक पीडितले एमएनटीभीलाई बताए ।

विद्यार्थीको पैसा नेपाल पठाइदिने, नेपालबाट ल्याइदिने भन्ने र पछि पैसा चट् बनाइदिएपछि तिमीहरु क्यासमा काम गरेको छौ, म डिपोर्ट गरिदिन्छु भन्दै उल्टै धम्क्याउने गरेको पीडितहरुको अनुभव छ । एक पीडितले भने, “यसले नयाँ विद्यार्थी आउने थाहा पायो भने एयरपोर्टमा गएर उसलाई रिसिभ गर्न जान्छ, त्यतिबेला पासपोर्टको कपी, भिसा कपि लिएर त्यसकै आधारमा महँगो फोन किनेर पनि विद्यार्थी ठगेको पाएका छौं । नयाँ विद्यार्थीको ट्राभल चेकहरु म जम्मा गरिदिन्छु पछि चाहिएको बेला दिउँला भनेर पनि यसले विद्यार्थीको पैसा खाइदिएको छ ।”

ठगिएका विद्यार्थीहरुले हुन्डीका नाममा ठगी गर्ने यो व्यक्तिलाई केही सामूदायिक संघसंस्थाका अधिकारीहरुको समेत साथ रहेको आशंका गरेका छन् ।

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?