नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुग्यो : २६ जनाको मृत्यु
काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा ४३४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा ४३४ संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार १ सय ६२ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएका दुई जनाको मृत्यु भएको छ। पोखरा र ललितपुरमा उपचाररत दुई पुरूषको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ।
कोरोना संक्रमण भएर पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षे पुरुषको बुधबार राति मृत्यु भएको हो।स्याङ्जाका ती संक्रमित मधुमेह र नियोनियाका पनि बिरामी थिए। उनलाई उपचारका लागि ८ गते पोखरा ल्याइएको थियो। उनलाई कोरोना संक्रमणको पुष्टि पनि त्यसै दिन भएको थियो। त्यसअघि उनी गाउँमा सामाजिक कार्यमा सहभागी भएको बताइएको छ। उनको भने ट्राभल हिस्ट्री छैन।
त्यसैगरी ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका चितवन स्थायी घर भएर ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ५० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो।
संक्रमितमध्ये २६५० जना निको भएर घर फर्किएका छन्। नेपालमाअहिलेसम्म जनाको पिसिआर मेसिनबाट १९९७३७ परीक्षण गरिएको छ भने ७४ हजार २२ जना अझै क्वारेन्टिनमा छन्।