नेपालमा सत्ता राजनीतिको चरमोत्कर्ष, बालुवाटार र खुमलटारका आफ्नै अडान र दाउ !
नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता बहिर्गमनका निम्ति राजनीतिक दाउपेच तिव्र बनेको छ । एकातिर सोमबारका लागि तय भएको स्थायी कमिटीको बैठकअघि आईतबार दुई शीर्ष नेताहरुबीच भेटवार्ता आज विहान १० बजेका लागि तय भएको छ भने अर्कोतर्फ राष्ट्रपतिलाई पनि विवादमा तानिँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई सत्ताबाट हटाउने र राष्ट्रपतिलाई समेत महाअभियोग लगाउने तयारी भएको भन्दै मन्त्रीहरुलाई आफ्नो कित्ता छुट्याउन निर्देशन दिएका छन् । उनले ठूलै षड्यन्त्र भएको र भारतले समेत यसमा खेलिरहेको निष्कर्श पनि सुनाएका छन् ।
बालुवाटारमा मन्त्रीहरुलाई यस्तो ब्रिफिंग गरिरहँदा अर्कोतर्फ खुमलटारमा भने पार्टी जोगाउनका लागि अन्तिमसम्म प्रयास जारी राख्ने तर स्थायी समितिको बैठक भने कुनैपनि हालतमा नरोक्ने अडानमा अर्का अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरु देखिएका छन् ।
यसैबीच, प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई पार्टीको आन्तरिक राजनीतिक दाउपचेमा सामेल गराउन नहुने भन्दै विवादबाट बाहिर राख्न आग्रह गरेका छन् । उनको संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाएर निकाल्न खोजियो भन्ने प्रधानमन्त्रीको भनाईको प्रतिउत्तर हो भन्ने बुझ्न कठीन छैन । ओली पक्षले प्रधानमन्त्री र अध्यक्ष दुबै छोड्न नसक्ने तर कारवाही गरेको अवस्थामा पार्टी नै विभाजन समेत हुनसक्ने भनेर चेतावनी दिइसकेका छन् । नेकपा गम्भीर मोडमा पुगेको बेला केहीले भने यो विषय पार्टीको भएपनि यसको निकास संसदीय दलमा निकाल्नुपर्ने मत राखिरहेका छन् । यदि प्रधानमन्त्री परिवर्तन गर्न चाहेको हो भने संसदीय दलमा बहुमत देखाएर नयाँ संसदीय दलको नेता चुन्न सकिने र यस्तो बहुमतप्राप्त व्यक्तिले मात्र प्रधानमन्त्रीमा दावी गर्नसक्ने उनीहरुको भनाई छ ।
एकै पटक विगत एकतादेखिकै तुषहरु सडकमा छताछुल्ल हुन लागेका बेला प्रतिपक्षी नेपाली काँग्रेस समेत सत्ता राजनीतिको यो खेलमा सामेल हुन लागेको संकेतहरु भेटिएका छन् । सभापति देउवालाई साथमा लिएर तत्कालीन एमाले व्यूताउँदै प्रधानमन्त्री ओलीले बहुमत बनाउने अंकगणित सुरु गरेका समाचारहरु आइरहेका छन् । ओलीले अहिलेको सम्पूर्ण राजनीतिक दाउपेच माधव नेपालको भएको भन्दै स्वयं प्रचण्डलाई पनि तपाईं कता लाग्ने भनेर आफ्नो रणनीति अघि सारेका छन् ।
विश्लेषकहरु नेकपा नफुट्ने तर अहिलेको यो रस्साकस्सीले जोडिन पनि नसक्ने अवस्था आइपुगेको टिप्पणी गरेका छन् । दृश्य केही दिन अझै धमिलो नै हुने देखिएको छ ।