विवाहको निमन्त्रणा कार्डमा लुकाएर लागूऔषध ल्याउनखोज्ने २० वर्षीय युवक पक्राउ !
अष्ट्रेलियाको सीमा बलले एक २० वर्षीय युवालाई पाँच किलो लागू औषध आईस बनाउन प्रयोग हुने प्रतिबन्धित औषधीय सामग्री आयात गरेको आरोपमा पक्राउ गरेको छ । निजले २० फेब्रुअरीमा कार्गोमार्फत मगाएको विवाहको निमन्त्रणा पत्रको पोकामा लुकाएर उक्त परिमाणको सामग्री मगाएका थिए । सीमा रक्षकहरुले पाँच किलो प्रतिबन्धित औषधीय सामग्री फेला पारेपछि बुधबार निजलाई सिड्नीको बेक्स्लीस्थित निवासबाट पक्राउ गरेका हुन् । हिजै अदालतमा पेश गरिएकोमा अदालतले धरौटीमा रिहा गर्न अनुमति दिएको छ ।
निजलाई प्रतिबन्धित औषधीय सामग्री अनुमति विनाआयात गरेको सहित तीन अभियोग लगाइएको छ । उनलाई लगाइएका अभियोग प्रमाणित भएमा २५ वर्षसम्मको जेल सजाय हुनसक्ने र १० लाख ५० हजार डलरसम्म जरिवाना वा दुवै हुनसक्ने कानूनी प्रावधान छ ।
अष्ट्रेलियन बोर्डर फोर्सका अनुसन्धान न्यूसाउथवेल्स सुपरिटेन्डेन्ट ग्यारी लोले आफ्ना अधिकारीहरु लागू औषध मात्र नभई यसलाई बनाउन प्रयोग गरिने सामग्रीको बारेमा समेत जानकार रहेको भन्दै गैरकानूनी क्रियाकलाप कुनैपनि हालतमा रोकिने बताए । पक्राउ परेका युवकलाई आगामी सेप्टेम्बर १४ मा पुनः पेशी तोकिएको छ ।