प्रधानन्यायाधीशको चित्त परेका पूर्वडीआईजी रन्जन कोइरालाको हत्या स्वीकारोक्ति बयान
सर्वश्वसहित कैद सजाय पाएको व्यक्ति ८ वर्षमै छुट्यो, यति मात्र भएन प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबराको चित्तमा सजाय बढी भएको लागेका कारण यस्तो निर्णय हुन पुग्यो । तर, यसका विरुद्ध महान्यायाधीवक्ताको कार्यालयले पुनरावेदन गर्ने बताइसकेको छ । दर्ता पनि भइसकेको अवस्थामा अब फुलबेञ्चमा यो मुद्दा पुग्ने कुरामा दुईमत छैन । तर, यस्तो गम्भीर त्रुटी कसरी हुनपुग्यो ? हुनतः यसअघि पनि चोलेन्द्र श्रीमान विभिन्न मुद्दामा चुकेकै हुन् । सबैभन्दा चर्चित चाहीँ पूर्वअधिराजकुमारी प्रेरणाको दाइजोको जग्गाको मुद्दामा उनी बारम्बार चुकेका थिए । उनी जुन बेञ्चमा पुग्थे त्यहीँ मुद्दा पुग्थ्यो । यतिसम्म भयो कि धेरै समयसम्म पुनरावेदन नगरी बसेका उनीहरु जब चोलेन्द्र प्रधान्यायाधीश भए तब पुनः पुनरावेदनका लागि सर्वोच्च समेत पुगेका थिए । दुईपटक जिताइसकेर उल्टिएको मुद्दा फेरि सुल्ट्याउन सकिन्छ कि भन्दै उनीहरु चोलेन्द्र श्रीमानकै शरणमा पुगेका थिए ।
यतिबेला रन्जन कोइराला चर्चामा छन् । जेलबाट छुट्ने बेलामा उनको वरिपरिको वातावरण, स्वागत अति त्यो हात हल्लाई धेरैले बुझिरहेका छन्, चर्चा गरिरहेका छन् । के देशमा न्याय मरेकै हो त ? के यसैगरी हत्याको अपराधी त्यो पनि जघन्य अपराध जसमा मारेको मात्र होइन, मारेर लास समेत गायब बनाउने कुत्सित मनसाय राखी आफ्नै श्रीमतीलाई जंगलमा लगी जलाएर फर्किएको एउटा कानूनको पहरेदार छ । कानूनको पालना गराउने अधिकारीले यस्तो अपराध गरेको अवस्थामा त झन सजाय दोब्बर हुनुपर्नेमा दिइएको सजायलाई समेत चित्त नपरेको भन्दै आधा गर्ने काम किन भयो ? धेरैले यही प्रश्न गरिरहेका छन् । हामीले यहाँ तपाईंहरु सामू त्यतिबेला रञ्जन कोइरालाले प्रहरी समक्ष यो घटनाका बारेमा कस्तो बयान दिएका थिए प्रस्तुत गर्दैछौं –
‘हाम्रो विवाह राजीखुशीले नभई बुवाआमाको करकापमा भएको हो । श्रीमतीले मलाई पुलिस मनै पर्दैन भनेर खटपट भएकाले १० वर्षदेखि अलग–अलग बस्न थालेका हौं ।
म चीनको नेसनल डिफेन्स कोर्सका लागि २०६८ साल भाद्रमा बेइजिङमा गएर पुस २१ गते नेपाल फर्केको थिएँ । फर्केपछि श्रीमतीसँग फोन वा भेटघाट भएको थिएन । पुस २७ गते बिहान ७ः३० बजेतिर गीताको मोबाइलबाट कान्छो छोराले फोन गरेर मलाई लिन आउनू भन्यो । उसलाई लिनका लागि म, जेठो छोरा र चालक रामकुमार गुरुङसहित तीन जना गीता बस्दै आएको घरमा गयौं र १० बजेतिर लिएर आयौं । त्यसबेला गीतासँग भेट भए पनि गफगाफ भएको थिएन ।
कानूनको पालना गराउने अधिकारीले यस्तो अपराध गरेको अवस्थामा त झन सजाय दोब्बर हुनुपर्नेमा दिइएको सजायलाई समेत चित्त नपरेको भन्दै आधा गर्ने काम किन भयो ?
त्यहाँबाट फर्केर मैले दुबै छोरालाई टेनिस खेल्नका लागि हल्चोकमा छाडेँ । आफूचाहिँ सपिङ गर्न भाटभटेनी सुपरमार्केटमा गएँ । त्यहाँ सपिङ गर्दागर्दै गीताले फोन गरी सल्लाह गर्नु छ, तुरुन्त घरमा आउनू भनिन् । म पनि केही जरुरी काम होला भनी अपरान्ह १२ बजेतिर घर पुगेँ । म घरमा पुग्दा गीता भर्याङ चढ्ने ठाउँनेर घाम तापेर बसिरहेकी थिइन् ।
भेट हुनासाथ गीताले मलाई व्यापार गर्नका लागि इन्डिया जानुपर्ने भयो भनेर चार–पाँच लाख रुपैयाँ मागिन् । मैले पैसा छैन भनेर घरबाट निस्केर बाहिर जान खोज्दा गीताले मलाई रोकिन् । उनले मेरो ज्याकेट समातेर तान्दै विभिन्न गालीगलौज गर्न थालिन् । तानातानकै क्रममा हात हालाहाल भयो । यसैबीचमा म भर्याङ चढी गीता सुत्ने कोठामा गएँ । उनी गालीगलौज गर्दै सोही कोठामा आई झगडा गर्न थालिन् । सो कोठामा पनि हामीबीच हात हालाहाल र धकेलाधकेल भयो ।
हातपातकै क्रममा मैले गीतालाई धकेल्दा उनी कोठाकै भित्तामा बजारिँदा निजको टाउको भित्तामा ठोकिन पुग्यो । त्यसपछि उनी बोल्न चल्न नसकी अचेत भइन् । मैले नाटक गरेकी होला भन्ठानी बैठक कोठामा आई १०/१५ मिनेट बसेँ । त्यसपछि पुनः गीता पल्टेको ठाउँमा गई हेर्दा सोही ठाउँमा पहिलेकै अवस्थामा पल्टिरहेकी थिइन् । त्यसपछि मैले उनलाई हल्लाई चलाउँदासमेत कुनै प्रतिक्रिया नजनाएपछि उनको स्वास–प्रश्वाससमेत बन्द भइसकेको यकिन भयो । त्यसपछि निजलाई बिस्तराको कुनापट्टि छाडी उनी सुत्ने कोठामा लक गरी चाबी बाहिर छोराले किताव राख्ने ठाउँनेर फाली म १ बजेतिर निस्किएँ ।
म एकदमै आत्तिई विक्षिप्त भई गीताको लासलाई के गर्ने भनी सोची कुनै एकान्त स्थानमा लगी जलाई नष्ट गर्नु उपयुक्त सम्झेँ । बेलुका ६ बजेतिर चालक शंकर पौडेललाई फोन गरी बा १ झ ६२१३ नम्बरको सरकारी प्राडो गाडी लिएर महाराजगञ्ज चोकमा आउनु भनी बोलाएँ । र, बेलुकी ७ बजेतिर गाडी ल्याएँ ।
मैले बसुन्धरातर्फबाट महाराजगञ्ज नपुग्दै केही वरै निजलाई गाडी रोक्न लगाई केही क्षणमा फर्किन्छु भनी म गाडी लिएर गीता बस्ने गरेको घरमा गएँ । मैले गेट खोली गाडीभित्र गई गीताको लासलाई कम्बलले बेरी भान्सा कोठाकै ढोकाबाट बाहिर निकाली गाडीको पछाडि राखी सवा ८ बजे मूल सडकमा आई शंकर पौडेललाई फोन गरेँ ।
मैले गाडी हाँकी चालकलाई छोडेको ठाउँमा पुगी म गाडीबाट ओली ड्राइभरलाई गाडी चलाउन लगाएँ । सशस्त्र प्रहरीको पेट्रोलपम्पमा गई ३०/३५ लिटर जति डिजेल भर्न लगाई थानकोटतर्फ जाँदै गर्दा नागढुंगा चेकपोष्टमा ९ बजे पुग्यौं । मैले सो गाडीमा तीन–चारवटा ग्यालोनमा पहिलेदेखि ल्याएको पेट्रोलले गीताको लासलाई जलाई नष्ट गर्ने योजना बनाएँ ।
लास जगाउन सुनसान र एकान्त ठाउँ जरुरी थियो । मैले खानीखोला पुगेपछि मेरो ड्राइभरलाई त्यहीँ ओर्लिन लगाएँ । त्यसपछि निश्चित गन्तव्य र योजना बिना गाडी आफैंले चलाई नौबिसे हुँदै हेटौंडातर्फ अगाडि बढेँ । एक–डेढ घन्टा गाडी चलाई अगाडि बढेपछि सुनसान जस्तो ठाउँ देखी गाडी रोकेँ । मैले उक्त लासलाई सुनसान र सडकदेखि पर लैजान नसक्ने भएपछि सडक छेउमा जलाई नष्ट गर्न उचित सम्झी सडक छेउमा राखी पेट्रोल लासमाथि खन्याई आगोले जलाई फेर्केको हुँ ।
खानीखोला आइपुगेपछि मैले ड्राइभर शंकरलाई बोलाई निज आएपछि गाडी चलाउन दिई ४ः३० बजेतिर नागढुंगा क्रस गरी इचंगुनारायणको घरमा आएर गाडी अफिसमा राख्न पठाएको थिएँ । घटनामा अरु कसैको संलग्नता छैन । मेरो मात्र संलग्नता छ ।’