पोखरीमा डुबेर झापामा तीन बालकको मृत्यु !
झापामा पोखरीमा डुबेर तीन जना बालकको ज्यान गएको छ । भद्रपुर नगरपालिका २ स्थित कमलधापका तीन बालकको सिमसार निर्माणका लागि खनिएको पोखरीमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश तामाङ, कमला थामीका छोरा १४ वर्षीय करण थामी र १२ वर्षीय अर्जुन थामी रहेका छन् ।
पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरवाहीले बालकहरुको मृत्यु भएको आरोप पीडित पक्षले लगाएका छन् । एकै गाउँका तीन जना बालकको पोखरीमा डुबेर मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । झापाका प्रहरी प्रवक्ता डीएसपी थापाका अनुसार बुधबार दिउँसो पोखरीमा माछा मार्न तथा पौडी खेल्न जाँदा बालकहरु पोखरीमा डुबेका हुन् ।
घरमा कसैलाई नभनी गएका तीन जना बालक साँझ अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए । खोजी गर्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा तीनैजना बालकको शव फेला परेको थियो ।