रुपको घमण्ड गरेको भन्दै युवतीमाथि एसिड प्रहार !


बिहिबार दिउँसो चिनजानको नम्बरबाट युवतीको मोबाइलमा बारम्बार फोन आइरहेको थियो । फोन गर्ने व्यक्ति मोहम्मद आलाम थिए । आलमले युवतीको मोबाइलमा पटक–पटक फोन गरी खाजा खाने प्रस्ताव राखेका थिए ।

युवतीले आलम चिनजानकै भएकोले खाजा खाने प्रस्ताव अस्वीकार गरिनन् । साँझपख युवती दही किन्न भन्दै कोठाबाट निस्किन् । आलम मोटरसाइकल लिएर बाफलको सृजनशील टोल पुगे । मोटरसाइकल चढेर दुवै खाजा खान निस्किए । आधा घन्टापछि आलमले ती युवतीलाई सृजना टोल नजिकै ल्याएर छोडिदिए । त्यसपछि उनी आफ्नै बाटो लागे ।

आलम त्यहाँबाट हिँडेको केही समय नबित्तै एक युवकले ती युवतीमाथि एसिड प्रहार गरे । युवती चिच्याउन थालिन् । मानिस भेला भए, उनलाई अस्पताल लगियो । तर एसिड हान्ने युवक भाग्न सफल भए । युवतीमाथि एसिड छर्किएको पत्तो पाएपछि स्थानीयले तत्कालै नजिकै रहेको मनमोहन अस्पताल पुर्याए । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगियो ।

घाइते युवतीलाई अस्पताल पुर्याउँदा पौने ९ बजिसकेको थियो । घटनाबारे प्रहरीले जानकारी पाइसकेको थियो । प्रहरीले बाफल चोकमा जडान गरिएको सीसीटीभी फुटेज निकाल्यो । सीसीटिभी फुटेजमा शंकास्पद व्यक्तिको हुलिया पत्ता लाग्यो ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले अप्रेसन सुरु गर्यो । घटना भएको तीन घण्टा नबित्दै प्रहरीले दुई जनालाई नियन्त्रणमा लियो । समातिएका एकजना उनै थिए जसले युवतीलाई मोटरसाइकलमा राखेर खाजा खुवाउन लगेका थिए भने अर्का भारतीय नागरिक मुन्ना महमद थिए ।

पक्राउपछि एसिड प्रहार गर्ने महमदले मैले त मालिकको आदेश मानेर एसिड हान्न गएको हुँ, मलाई नै एसिड लाग्यो’ भन्दै प्रहरीसमक्ष बयान दिए । युवतीलाई पहिलेदेखि नै आलमले फलो गर्ने गरेका थिए । प्रेमप्रस्ताव समेत राखेका थिए । तर, युवतीले उनको प्रस्तावलाई अस्वीकार गरेकी थिइन् ।

आलमले आफूले ती युवतीलाई मन पराएको तर उनले वास्तै नगरेपछि एसिड हान्ने योजना बुनेको बयान दिएका छन् । ‘उनले रुपको सारै घमण्ड गरिन्, मैले मन पराउँथे तर कुनै मतलब नै गर्दिन थिइन्,’ आलमले प्रहरीसँग बयानमा भनेका छन्, ‘रुपको घमण्ड गर्न थालेपछि मलाई असह्य भएर एसिड हान्ने योजना बनाएँ ।’

एसिड प्रहार गरेपछि पनि आलमले युवतीको मोबाइलमा फोन गरेको देखिएको छ । फोनले युवतीकी दिदीले उठाएकी थिइन् । आलमले आफूलाई प्रहरीले एसिड आक्रमण गरेको भन्दै सोधपुछ गरेको फोनमा बताएका थिए । घटनापछि बच्नका लागि बहानाबाजी गरेको देखिन्छ, महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?