नशालु पदार्थ खुवाई किशोरीको सामुहिक बलात्कार !
सर्लाहीको लालबन्दीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना शुक्रबार सार्वजनिक भएको छ । होटलमा काम गर्ने लालबन्दी नगरपालिका–६ की १४ वर्षीया किशोरीलाई विवाहको प्रलोभन देखाई सामुहिक बलात्कार गरिएको खुल्न आएको छ ।
किशोरीमाथि बलात्कार गर्ने लालबन्दी नगरपालिका–७ का २५ वर्षीय सुमन विश्वकर्मा र लालबन्दी–६ का २६ वर्षीय रामबहादुर पराजुली फरार छन् । यही असार ५ गते राति किशोरीलाई लालबन्दी बजारस्थित फेसबुक होटलमा लगेर बलात्कार गरेको खुलेको छ ।
२५ वर्षीय विकले पीडित किशोरीलाई काठमाडौं लगी विवाह गर्ने प्रलोभन देखाई ५ गते राति साढे ११ बजे होटलमा पुर्याएका थिए । किशोरीलाई होटलमा पुर्याई भोलि काठमाडौं जाने र त्यसपछि विवाह गर्ने भन्दै दुई किशोरले होटलमै विवाह हुने खुसियालीमा केक काटेर खानुका साथै किशोरीलाई चिसो पिलाएका थिए ।
चिसो खाएको केही मिनेटमा नशा लागेको जस्तो भएको र त्यसपछि आफूलाई विवाह गर्ने प्रलोभन देखाएका युवक र उनका साथीले पालैपालो जबरजस्ती गरेका पीडित किशोरीले बताएकी छन् । पीडितको जाहेरी लिएर घटनामा संलग्न भई फरार रहेका दुवै युवकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।