नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ४५ पुग्यो !
नेपालमा थप एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ । बाराको परबाणीपुर गाउँपालिकाकी एक किशोरीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १७ वर्षीया किशोरीको संक्रमणबाट मृत्यु भएको हो।
गएको बुधबार उनमा आरडीटी परीक्षण गरिएको थियो । पखाला लाग्ने, श्वासप्रश्वासमा समस्या देखिएका ती किशोरीको आरडीटी परीक्षणमा पोजिटिभ रिपोर्ट आएको थियो । यसपछि उनलाई गण्डक कोरोना अस्पतालमा भर्ना गरिएको मन्त्रालयले जनाएको छ ।
८ साउनमा ती किशोरीको पीसीआर परीक्षण गरिएकोमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए। गौतमका अनुसार, ती किशोरीको ९ साउनमा मृत्यु भएको छ । उनी सहित संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ४५ पुगेको छ ।