पूर्वडीआईजी रञ्जनविरुद्धको मुद्दा ३ न्यायाधीशको बेन्चमा !


सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयको पुनरावलोकनमाथि आज सुनुवाई हुदै छ । रञ्जनविरुद्धको पुनरावलोकन निवेदनको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सुनुवाईका लागि तीन न्यायाधीशको बेञ्चमा तोकेका छन् ।

यस मुद्दा न्यायाधीशहरु वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेन्चमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले पूर्वडीआईजी कोइरालाको मुद्दाको सजायँ कटौती गर्ने निर्णय गरेका थिए ।

पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर असार १५ मा चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजालासले कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेपछि उनी श्रावण ८ गते रिहा भएका थिए । सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

सर्वोच्चको फैसलालगत्तै सरकार उक्त मुद्दा पुनरावलोकनका लागि निवेदन दिन पुगेको थियो । रञ्जनलाई गलत मनसायले कैद सजायमा छुट दिइएको र सर्वोच्चकै नजिर विपरीत भएको भन्दै सरकारले पुनरावलोकनको निस्सा माग गरेको थियो । सार्वजनिक विदाको दिन भएपनि शनिवार नै उक्त मुद्दाको पेशी आइतबारका लागि तोकिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?