एमसीसीका विषयमा सरकार सकारात्मक भन्दै पोखरेलद्वारा राजदूत बेरीलाई आश्वस्त !



अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का विषयमा नेपाल सरकारले गरिरहेको कामबारे अमेरिकाले चासो व्यक्त गरेको छ । आज उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका विषयमा चासो राखेका हुन् ।

सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसीको पक्ष र विपक्षमा विभाजित भइरहँदा राजदूत बेरीले भेट गरेका हुन् । एमसीसी जेठ १६ गते संसदबाट पारित गरिसक्नुपर्ने थियो। तर नेकपाभित्रै विवाद भएपछि एमसीसी पारित हुने–नहुने अन्योल छ।

एमसीसीका सम्बन्धमा नेपालले थालेका आन्तरिक तयारीबारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर यसबारे जानकारी लिएका हुन्। भेटमा राजदूत बेरीले एमसीसीको विषय के प्रगति भइरहेको छ भन्दै चासो व्यक्त गरेको रक्षामन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले जानकारी दिए।

भेटमा बेरीले विश्वका अन्य देशहरुबाट माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ भन्दै बुझ्न खोजेको पनि सहसचिव सुनारले बताए।

रक्षामन्त्री पोखरेलले एसीसीबारे सरकार अझै छलफलमै रहेकाले अनुमोदन गर्न ढिला भएको जवाफ दिएका थिए। एमसीसीका विषयमा सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको भन्दै पोखरेलले राजदूत बेरीलाई आश्वस्त पार्ने प्रयास गरेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?