डाका मुद्दाका फरार दोषी १२ वर्षपछि पक्राउ !
काठमाडौँ । प्रहरीले डाका मुद्दाका एक फरार दोषीलाई जनकपुरबाट १२ वर्षपछि पक्राउ गरेको छ। बाह्र वर्षअघि जनकपुरमा भएको डाकैतीमा संलग्न जनकपुरधाम–७ बस्ने बैजु साहलाई प्रहरीले पक्राउ गरेको हो।
जनकपुरधाम–८ स्थित जीवनाथ चौधरीको घरमा २०६५ भाद्र १५ गते डाकामा साह संलग्न रहेको धनुषा जिल्ला अदालतले करिब डेढ वर्षअघि फैसला गरेपनि साह पक्राउ परेका थिएनन्।
जनकपुरमा बैजु मधेशी नामले समेत चिनिने उनलाई अदालतले ६ वर्ष कैद र ९ लाख ४५ हजार ४५० रुपैयाँ जरिबाना तोकेको छ। डाका मुद्दामा दोषी सावित भएर फरार रहेका साहलाई जनकपुरधाम–७ जिरोमाइलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।