बावुले गरे आफ्नै छोरीलाई बलात्कार, पेटमा ६ महिनाको गर्भ !


बाजुराको बुढीगंगा नगरपालिकामा ६५ वर्षीय एक पुरुषले आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको खुलेको छ । किशोरीको पेटमा ६ महिनाको गर्भ रहेको खुलेपछि उनलाई आफ्नै बाबुले बलात्कार गरेको खुलेको हो । कक्षा ६ मा पढ्ने किशोरीको महिनावारी सुरु भएको एक वर्ष भएको थियो । उनले भनिन्, ‘आमा गाईभैँसी लिएर गोठमा बस्ने गरेकी थिइन्, घरमा कोही नभएको बेला बुवाले जबर्जस्ती गरेका हुन् । मलाई रक्तस्राव भयो । कसैलाई भने मार्छु भनेकाले भन्न सकिन ।’

गएको साता उनी पेट दुखेको भनेर चेक गर्न स्वास्थ्य चौकी पुगेको बेला स्वास्थ्यकर्मीले पेटमा बच्च रहेको बताएका हुन् । छोरीलाई बलात्कार गर्ने ५६ वर्षीय बाबुलाई जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेको छ । उनलाई जबर्जस्ती करणी मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए ।

बालिकालाई सदरमुकाम मार्तडीमा रहेको सेभ हाउसमा राखिएको छ । बालिकाको पेटमा २५ देखि २७ साताको गर्भ रहेको अनुमान स्वास्थ्यकर्मीले गरेका छन् । हाडनाता करणीमा २८ सातासम्मको गर्भपतन गर्न पाउने प्रावधान छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?