सुदूरपश्चिममा थप ४२ जनामा कोरोना संक्रमित, एक जनाको मृत्यु !


काठमाडौँ । धनगढी सुदूरपश्चिम प्रदेश सेती प्रादेशिक अस्पतालले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरुमा कैलालीका १८ जना, डोटीका २३ जना र कंचनपुरका एक जना रहेका गरी मंगलबार ४२ जना संक्रमित थपिएका छन् ।

यसै बीच सुदूरपश्चिममा एक जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको बुङ्गल नगरपालिका –३ का ६५ वर्षका एक वृद्ध रहेका छन् । मृतकलाई १४ दिन क्वारेन्टाइन राखेर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै श्रावण ६ मा घर पठाइएको थियो ।

घरमा रहेका उनलाई श्रावण ९ मा अकस्मात स्वास्थ्य समस्या आउँदा मृत्यु भएको र सोमबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । उनको डडेल्धुरा अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

उनलाई मृत्युपश्चात कोरोना पुष्टि भएको हो । मृतक असार २४ गते भारतबाट फर्किएका थिए भने उनको श्रावण ९ मानै परम्परागत रूपमा दहासंस्कार गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?