कैलालीमा सयौं घर डुबानमा, उद्धारमा सेनासहितको टोली परिचालित !
कैलाली र कञ्चनपुरमा पछिल्लो १४ घण्टादेखि भारी वर्षा भइरहेको छ। वर्षाका कारण नदीहरुमा पानीको बहाव बढेको छ। कतिपय नदीको बाढी वस्तीमा पसेर डुवान भएको छ । कैलालीमा बाढी प्रभावितको उद्धारमा सेनासहितको टोली परिचालित भएको छ । जिल्लाका अधिकांश स्थानीय तहमा नदीको बाढी वस्तीमा पसेर सयौं घर डुबानमा परेपछि प्रभावित भएकाहरुलाई सुरक्षित स्थानमा सार्न नेपाली सेना, शशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित भएका हुन् ।
बाढीले स्थानीयको घर, अन्नपात र पशुचौपायालाई क्षति पुर्याएपछि सुरक्षाका लागि सेनासहितको संयन्त्र परिचालित भएको जिल्ला प्रशाशन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। एक सय २० जनाको उद्धार टोली नेपाली सेना, शशस्त्र र नेपाल प्रहरीबाट प्रभावित स्थानीय तहहरुमा गइसकेको छ,” उनले भने।
हिजो रातिदेखिको अविरल भारी वर्षाले कैलारी गाउँपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, बर्दगोरीया गाउँपालिका र धनगढी उप– महानगरपालिकामा बाढी र डुवान भएको छ।
कैलारी र भजनी क्षेत्रका डुवानमा परेका परिवार र पशुचौपायालाई हुलाकी सडक र सुरक्षित स्थानमा सार्ने काम भइरहेको जोशीले बताए । कैलारी गाउँपालिका वडा नम्वर –७ मा स्थानीय बलराम चौधरीको घरमाथि रुख खस्दा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले घाइते भएका बलरामसहित उनकी श्रीमती सावित्री र १३ वर्षीया छोरी वसन्तीको उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको बताए।