कालिकोट पहिरो अपडेट : १० जनाको मृत्यु, ७ अझै बेपत्ता !
बाढीपहिरोका कारण कालीकोटमा १० जनाको मृत्यु भएको छ भने सात बेपत्ता भएका छन् । नरहरिनाथ गाउँपालिका–७ बागामा मंगलबार राति पहिरो जाँदा एकै परिवारका सात जनाको ज्यान गएको हो ।
स्थानीय गंगे बुढासहित उनकी पत्नी ६२ वर्षीया मैना बुढा, बुहारी २४ वर्षीया उषा बुढा, १८ वर्षीया विमला बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढा, नातिहरू सात वर्षीय राम बुढा र डेढ वर्षीय चरित्र बुढाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए । उनका अनुसार पहिरोमा परी गम्भीर घाइते भएकी विमलाको उपचारका क्रममा मृत्यु भएको हो ।
नरहरिनाथकै गोठीमा पहिरो जाँदा बले बुढाको घर पुरिएको छ । त्यस क्रममा बले र उनकी पत्नी मना बुढाको ज्यान गएको छ । त्यस्तै, रास्कोट नगपालिका–१ चोक्टेबगरमा टेके टमटाको घर बगाउँदा सान्नीत्रिवेणी–७ की केश्पुरा शाहीको मृत्यु भएको छ । रास्कोट–१ कै जयबहादुर शाहीको घर बगाउँदा उनीसहित छोरीहरू संगीता, अस्मिता, कौसी र छोरा नवीन शाही बेपत्ता भएका छन् ।
त्यस्तैै तिलागुफा नगरपालिका–८ का टाकुल्ला खोलाको बाढीले बगाएर अविसरा शाही बेपत्ता भएकी छन् । खुलालुमा साउन १२ गते गएको पहिरोमा परी नरहरिनाथ गाउँपालिका–८ का पारस भण्डारा पनि बेपत्ता भएका छन् ।