अगष्ट ६ तारिख अर्को चार्टड फ्लाईट गर्ने तयारी, अष्ट्रेलियामा अब कति यात्रु बाँकी ?


मालिन्डोमार्फत १ सय ६१ जना स्वदेश फर्किए

अष्ट्रेलियाबाट मालिन्डो एयरमार्फत १ सय ६१ जना नेपाली स्वदेश फर्किएका छन् । बिहीबार साँझ सवा ५ बजे सिड्नीबाट उडेको विमान शुक्रबार विहान सवा ६ बजे काठमाडौं ओर्लिनेछ । नेपाली दूतावास क्यानबेराको पहलमा बनेको स्वदेश फिर्ती समितिको पहलमा मालिन्डो एयरमार्फत नेपालीहरु स्वदेश फर्किएका हुन् । यसरी जाने नेपालीहरुले ११ सय २० अमेरिकी डलर भाडा तिरेका छन् । यसअघि १४ जुनको फ्लाईटमा ११ सय ५१ डलर भाडा तिरेका यात्रुहरुले त्यसअघि नेपाल एयरलाईन्सका दुईवटा फ्लाईटमा १६ सय ३५ अमेरिकी डलर भाडा तिरेका थिए । अहिलेसम्म कूल ७ सय ९३ यात्रु अष्ट्रेलियाका विभिन्न शहरबाट नेपाल फर्किएका छन् ।

एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुंगले एमएनटीभीसँग कुरा गर्दै यात्रुहरु एकदमै खुशी भएर नेपाल फर्किएको बताए । उनले भने, १ सय ६० सिट मात्रै भएका कारण जान चाहने सबैजनालाई खुशी बनाउन नसकिए पनि स्वदेश फर्कन चाहने सबैले यो पहलका लागि संलग्न सबैको प्रशंसा गरेका थिए । उनले थपे, “धेरैले कोभिड टेष्ट गरेर प्रिन्ट नलिईकन आउँदा केहीबेर समस्याजस्तो भएपनि पछि त्यहीँ प्रिन्ट गर्ने व्यवस्था ट्राभल्सको साथीहरुले मिलाएको थियो ।”

पीआर र सिटिजन भएकाहरुले पहिले नै अष्ट्रेलियन सरकारबाट चिठ्ठी लिएर आउनुपर्नेमा नआउनुभएकाले पनि केही थप समय लागेको थियो । उनको सुझाव छ, “आगामी दिनमा उड्ने यात्रुहरुले पीआर, सिटिजनहरुको व्यवस्थाको बारेमा बुझेर आउनुहोला । हामी पनि यात्रुहरुलाई विमानस्थल आउनुपूर्व नै यो जानकारी गराउने कोसिस गर्नेछौं ।”

यस पटकको यात्रामा ४ जना अन्य राज्यबाट आएका थिए । उनीहरुलाई एनआरएन अष्ट्रेलियाले सिड्नीमा रहने व्यवस्थापन गरेको थियो । चार्टडको व्यवस्था गरेको सुमेघ ट्राभल्सका निर्देशक मेघ केसीले १ जना नाबालकसहित १ सय ६१ जना स्वदेश फर्किएको जानकारी दिए ।

अगष्ट ६ तारिखमा अर्को चार्टड उडान

एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलको संयोजकत्वमा गठित स्वदेश फिर्ती समितिले आगामी अगष्ट ६ तारिखमा अर्को चार्टड उडान गर्ने तयारी गरेको छ । कँडेलका अनुसार यो सेमीचार्टड हुनेछ । अष्ट्रेलियाको सिड्नीबाट सिंगापुरसम्म सिंगापुर एयरलाईन्सको नियमित व्यवसायिक फ्लाईटमा जाने र त्यहाँबाट चार्टड उडान मार्फत काठमाडौंसम्म जाने व्यवस्था मिलाइएको कँडेलले बताए । यद्यपि त्यसको १० दिनपछि नै नेपाल सरकारले नियमित उडान सुरु गर्ने भएका कारण महँगो भाडा तिरेर कति यात्रु जानेछन् यो भने हेर्न बाँकी नै छ ।

कति बाँकी छन् अष्ट्रेलियामा ?

नेपाली दूतावास क्यानबेराले अष्ट्रेलियामा कोरोना महामारीका रोकिएका र स्वदेश फर्कन चाहने यात्रुहरुसँग विवरण माग गरेकोमा करिब १८ सयले यस्तो फर्म भरेका थिए । यीमध्ये अहिलेसम्म ७ सय ९३ यात्रु फर्किएका छन् । नेपाल एयरलाईन्सको फ्लाईटमा भाडा महँगो भएको भन्दै मेलबर्नको उडानमा क्षमताभन्दा कम यात्रु स्वदेश फर्किएका थिए ।

एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलका अनुसार एनआरएन अष्ट्रेलियामा दर्ता गरी स्वदेश फर्कन चाहनेहरुको संख्या अझै पनि धेरै रहेका बताए । यद्यपि १७५० अष्ट्रेलियन डलरको दरमा रकम नै बुझाएर स्वदेश फर्कन प्रतिक्षा गर्नेहरु १ सय ५४ जना भएको जानकारी दिए ।

यो संख्या स्वदेश फर्कन चाहने बाँकी रहेका ४ सय ३९ मध्येको हो । जसमा न्यूसाउथवेल्सबाट २ सय ५० जना, अष्ट्रेलियन क्यापिटल टेरेटोरी क्यानबेराबाट २५ जना, नर्दन टेरेटोरी डार्विनबाट ९ जना, क्वीन्सल्याण्डबाट ३८ जना, साउथ अष्ट्रेलियाबाट १२ जना, तास्मानियाबाट ५ जना, भिक्टोरियाबाट ८८ जना र वेष्टर्न अष्ट्रेलियाबाट १२ जना रहेका छन् ।

चार्टड फ्लाईटमा जाने भनी रकम समेत तिरीसकेका ४४ जनाले भने आफ्नो पैसा फिर्ता मागेका छन् । कोषाध्यक्ष पोखरेलले अहिले फर्कन नचाहनेहरुको शतप्रतिशत रकम फिर्ता गरिने जानकारी दिए । १६ तारिखबाट नियमित फ्लाईट खुल्ने भएपछि चार्टड फ्लाईटमार्फत अब कति जानेछन यो भने हेर्न बाँकी छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?