भिक्टोरियामा ८ जना नेपालीलाई कोरोना संक्रमण, ४ जना होटल क्वारेन्टाईनमा !


अष्ट्रेलियाको कोरोना प्रभावित राज्य भिक्टोरियामा बसोबास गर्ने कम्तिमा ८ जना नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । त्यसमध्ये ४ जना होटल क्वारेन्टाईनमा बसेका छन् । एनआरएन अष्ट्रेलिया भिक्टोरिया राज्य समितिका संयोजक प्रेम कँडेलका अनुसार कोरोना संक्रमण भएका व्यक्तिहरु विद्यार्थीदेखि एनआरएनकै एक पदाधिकारी समेत छन् ।

एमएनटीभीसँग कुरा गर्दै कँडेलले पीडितहरुलाई एनआरएन अष्ट्रेलियाले ग्रोसरी लगायतको सहयोग गरिरहेको जानकारी दिए । “नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेत कोरोना लागेको पाइयो । उनी आफ्ना साथीहरुसँग बस्ने रहेछन् । हामीले तिनलाई होटल क्वारेन्टाईनको व्यवस्था गर्ने पहल थालेका छौं । यससँगै अन्यको पनि कोरोना परीक्षण गरिनेछ ।” कँडेलले स्पष्ट पारे ।

कोरोना प्रभावितमध्ये एक एनआरएन पदाधिकारी पनि होटल क्वरेन्टाईनमा बसेका छन् ।
४ जनालाई चाहीँ उहाँहरु रहेकै घरमा आईसोलेसनमा बस्न भनिएको छ । त्यहाँ छुट्टै कोठा र बाथरुमको व्यवस्था भएका कारण यस्तो गरिएको हो ।

नेपालीहरु धेरैजसो स्वास्थ्य क्षेत्र, एज्ड केयर, हस्पिटालिटीमा काम गर्ने भएका कारण उच्च जोखिममा छन् ।
यसअघि ४ जना नेपालीलाई कोरोना देखिएकोमा उनीहरु निको भइसकेका छन् । एनआरएन अष्ट्रेलियाले कोरोना संक्रमितलाई राहतस्वरुप १ सय २० डलरसम्मको ग्रोसरी सहयोग गर्ने निर्णय गरेको छ । उनीहरुको आवश्यकता अनुसार ग्रोसरी खरिद गरेर सम्बन्धित ठाउँमा नै लगिदिने व्यवस्था गरिएको छ ।

भिक्टोरियामा क्रियाशील नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभ, दिदीबहिनी समाज लगायतका संघसंस्थाले पनि कोरोना प्रभावितहरुलाई सहयोग गर्दै आएका छन् । भिक्टोरिया सरकारले कोरोना टेष्ट गर्न गएका कारण काममा जान नपाएकाहरुलाई ३ सय डलर सहयोग गर्ने घोषणा यसअघि गरिसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?