काठमाडौंबाट नक्कली नोटसहित स्टेशनरी पसल सञ्चालक पक्राउ !
काठमाडौंको शान्तिनगरबाट नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङजाको चापाकोट नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–३१ शान्तिनगरस्थित नोगेन्द्र कान्छा चोकमा स्टेशनरी पसल सञ्चालन गर्दै आइरहेका ३८ वर्षीय नारायण पौडेल रहेका छन् ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीले नक्कली नोट फोटोकपी गर्दै गरेको अवस्थामा पौडेललाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए । उनको साथबाट नक्कली नोट प्रिन्ट गर्ने एक थान प्रिन्टर, सक्कली एक हजारको नोट र फोटोकपी गरी तयार पारिएका १० थान एक हजारको नक्कली नोट बरामद भएको केसीले बताए । पौडेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।