कमलादी नक्कली सुन प्रकरण : फेरि १ किलो नक्कली सुन बरामद !
नक्कली सुन प्रकरणबारे अनुसन्धान गरिरहेको प्रहरीले शुक्रबार फेरि एक किलो नक्कली सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार न्युरोडमा रहेको उमेश श्रेष्ठको घरको एक कोठाबाट बाहिर सुनको जलप लगाइएको १ किलो चाँदी प्रहरीले फेला पारेको हो ।
परिसर काठमाडौंका प्रवक्ता डिएसपी राजकुमार केसीले मंगलबार नियन्त्रणमा लिएको जस्तै जलप लगाइएको अवस्थामा १ किलो चाँदी शुक्रबार न्युरोडबाट बरामद भएको जानकारी दिए ।
‘बाटामा माटो राखेर त्यसभित्र लुकाइएको अवस्थामा बाहिर जलप लगाइएको १ किलो सुन जस्तै देखिने पदार्थ नियन्त्रणमा लिइएकामा परीक्षण गर्दा चाँदी रहेको पुष्टि भयो,’ परिसर काठमाडौंका प्रवक्ता केसीले बताए ।
प्रहरी अनुसार सो सुनको जलप लगाएको एक किलो चाँदी दरबारमार्गमा कार्यरत प्रहरी जवान प्रसन्न श्रेष्ठले त्यहाँ लगेर लुकाएको आशंका गरिएको छ । तर, प्रहरीले भने कसले लगेर लुकायो भन्ने विस्तृतमा अनुसन्धानबाट खुल्ने बताएको छ । प्रहरीले घरधनी उमेश श्रेष्ठलाई भने नियन्त्रणमा लिएको छ ।