मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुट्ने नेपाली रहेको पुष्टि !
काठमाडौँ । मलेसियामा एक नेपाली सुरक्षागार्ड कुटिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उक्त भिडियोमा नेपाली सुरक्षागार्डमाथि लठ्ठीले कुट्नेको पहिचान भएको छ । सुरक्षा गार्डलाई कुटपिट गर्ने उक्त व्यक्ति पनि नेपालीनै भएको मलेसियास्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।
दूतावासले ३० जुलाईको राति भिडियो दूतावासमा आउना साथ त्यहाँको सुरक्षा गार्ड सम्बन्धी सेवा उपलब्ध गराउने कम्पनीको छाता सङ्गठन पीआईकेएमलाई अनुरोध गरी सत्यतथ्य बुझ्न अनुरोध गरेको थियो । त्यसपछि पीआईकेएमले जुलाई ३१ को बिहान प्रहरीमा उजुरी दर्ता गरेको थियो ।
प्रहरीको अनुसन्धानपछि दुवै जना नेपाली नागरिक रहेको पुष्टि भएको हो । दूतावासका अनुसार पीडित इस्लाम हुसेन नवलपरासीका र पीडक रामगोपाल मुराव कपिलवस्तुका स्थायी बासिन्दा हुन् । यस्तै मलेसियाको अध्यागमन कानुन अनुसार दुवै अवैधानिक भएर बसेको दूतावासले जनाएको छ ।