छोरीको सुसाइड नोट : बुवा तपाईको नाममा २० लाख जम्मा गरेकी छु !
सनराइज बैंक शाखा कार्यालय विराटनगरमा कार्यरत एक महिला कर्मचारीले ‘सुसाइड नोट’ लेखेर बुधबार मुसा मार्ने औषधि खाएर आत्महत्या गरेकी छन् । मुसा मार्न प्रयोग गरिने विषादी खाएर वरिष्ठ सहायक अधिकृत पदमा कार्यरत विराटनगर महानगरपालिका–८ सहयोगी टोलकी ३० वर्षीया सनाज खतिवडाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिएका छन् । उनका अनुसार मुसा मार्ने औषधि खाएर घाइते अवस्थामा भेटिएकी उनको उपचारका क्रममा दिउँसो करिब साढे १२ बजे नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
उनी बैंकको कार्यालयको शौचालयभित्रै बेहोस अवस्थामा भेटिएकी थिइन् । छेउमै विषादीको बट्टा पनि भेटिएको र चिकित्सकले पनि मृत्युको कारण मुसा मार्ने औषधि खाएर भएको जनाएका छन् । साथै उनले ब्लेडले आफ्नो देब्रे हातसमेत काटेको र ब्लेडले हात काटेपछि कार्यालयमा रहेको मुसा मार्ने औषधि खाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी राईले बताए ।
ब्लेड र विषादीको बट्टा पनि प्रहरीले बरामद गरेको छ । विषादी पिएर मर्नुअधि उनले लेखेको ‘सुसाइड नोट’ प्रहरीले फेला पारेको छ । सुसाइड नोटमा बाबु र आमालाई सम्बोधन गरेर म आफ्नै कारणले मरेको र यस घटनामा कसैलाई पनि दोष नदिन भनिएको छ । मृतक युवतीले बैंकमा आफ्ना बाबुको नाममा २० लाख रुपैयाँ जम्मा गरिदिएको र विभिन्न बैंक तथा वित्तिय संस्थामा आफ्नो शेयर रहेको नोटमा उल्लेख गरेको जानकारी डीएसपी राईले दिए ।
खतिवडा परिवार नजिकका एक सदस्यका अनुसार युवतीमा केही दिनदेखि मानसिक तनाव देखिएको थियो । सातादिन अघि पनि युवतीले आत्महत्याको प्रयास गरेको जानकारी परिवारले प्रहरीलाई दिएको डीएसपी राईको भनाइ छ । शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगेर घटनाको बाँकी अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए ।