सवारी पास सम्बन्धमा नयाँ व्यवस्था, आज निवेदन, भोलि मात्रै पास !
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ । अत्यावश्यक कामका लागि गाडीको पास चाहिएमा काठमाडौं प्रशासनमा अघिल्लो दिन निवेदन दिएर जाने तथा त्यसको भोलिपल्ट मात्रै पास लिनका लागि आउनुपर्ने हुन्छ । निवेदन दिएर सोही दिन पास लिन कुर्दा मानिसको भीडभाड बढी हुने भएकाले त्यस्तो व्यवस्था गरिएको जनाइएको छ ।
प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेका अनुसार अघिल्लो दिन सङ्कलन भएको निवेदनको आधारमा भोलिपल्ट बिहान ८ बजेबाट पास वितरण गरिने छ । त्यसका लागि गेटमै निवेदन दिने र सोही स्थानबाट पास लिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गर्दै अत्यावश्यक काम बाहेकका लागि पास नदिन निर्देशन जारी गरिसकेको छ ।