चुच्चेपाटीमा मादक पदार्थ सेवन गरी पत्नी र छोरीमाथि ‘थिनर’ प्रहार !
काठमाडौंको बौद्ध चुच्चेपाटीमा एक व्यक्तिले श्रीमती र छोरीलाई ‘थिनर’ प्रहार गरेका छन् । बिहीबार साँझ मादक पदार्थ सेवन गरेर श्रीमती र छोरीमाथि ‘थिनर’ प्रहार गर्ने अन्दाजी ४४ वर्षीय राजन विष्टलाई प्रहरीले पक्राउ गरेको हो । हेटौंडा घर भइ चुच्चेपाटी बस्दै आएका करिब ४४ वर्षीय राजन विष्टले रक्सीको सुरमा ४० वर्षीया पत्नी र करिब २० वर्षीया छोरीलाई गए राति नौ बजे ‘थिनर’ प्रहार गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक हिरा महराले जानकारी दिए ।
विष्ट परिवारमा घरायसी झगडा रहेछ । राति मादक पदार्थ खाएर घर आएपछि बाबुले छोरी र पत्नीलाई ‘थिनर’ प्रहार गरेको भन्ने खबर आयो,’ प्रहरी निरीक्षक महराले भने, ‘बाबुलाई पक्राउ गरेर अनुसन्धान गर्दा एसिड नभएर थिनर भएको बताए ।
टाउको र अनुहारमा थिनर परे पनि आमाछोरी दुबैको आँखाको ज्योतिमा कुनै असर नगरेको चिकित्सकले बताएका छन् । छोरीको आँखामा थिनर परेकाले उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । आमाको अवस्था भने सामान्य छ । ‘थिनर प्रहार गर्नेलाई के कारबाही हुन्छ, हामी बुझ्दै छौँ । छलफलको लागि राजनका पत्नी र छोरीलाई आज बिहान प्रहरी कार्यालयमा बोलाएका छौँ,’ प्रहरी निरीक्षक महराले भने ।
थिनर एक प्रकारको केमिकल हो । यसको उपयोग काठमा वा घरमा लगाउने रंगलाई पातलो बनाउन वा कुनै दागलाई हटाउन प्रयोग गरिन्छ । नङपालिस हटाउन र धातु वा प्लास्टिकका सामान चम्काउन पनि थिनरको प्रयोग हुन्छ ।