भतिजीसँगको अवैध यौन सम्बन्ध लुकाउन दाजुको हत्या !


तस्बिर : सीताराम गुरागाईं

ताप्लेजुङमा भतिजीसँगको अवैध यौन सम्बन्ध लुकाउन एक जनाले आफ्नै दाजुको हत्या गरेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–५ का पेम्बालाक्पा शेर्पाले आफ्नै दाजु फुर्वाग्यावेको हत्या गरेका हुन् । पेम्बालाक्पाले भतिजी पाशाङ ल्हामुसँग मिलेर दाजुको हत्या गरेको प्रहरी समक्ष स्वीकारेका छन् । साउन १२ गते गाई गोठमा मृत भेटिएका ६२ वर्षीय फुर्वा ग्याल्वो शेर्पालाई आफ्नै भाइले हत्या गरेको खुलेको हो ।

‘मृतकको भाई र भतिजीबीच पहिलेदेखि अवैध सम्बन्ध रहेछ,’ सोहि विषयमा विवाद हुँदा दाउराको चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेर गोठको अगेनामाथी राखेर म्याट्रिस, राडी र कम्बलले छोपेर आगो लगाएको अभियुक्तले स्वीकारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार प्रहरी बयानमा पेम्बालाक्पाले आफुलाई बारम्बार अपमानित हुने गालीगलौज गरेकोले दाजु फुर्वा ग्याल्वोलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गरी हत्या गरेको बयान दिएका छन् ।

प्रहरीले यो घटना हुँदा संगै रहेकी भतिजी नाता पर्ने पासाङ्ल्हामुलाई समेत घटनाको मतियारको रुपमा मुद्दा चलाउने तयारी थालेको छ । पेम्बा लाक्पाले पनि पासाङ्ल्हामुकै सहयोगमा दाजु फुर्वा ग्याल्वोको हत्या गरेको बयान दिएपछि प्रहरीले उनलाई समेत ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने प्रक्रिया सुरु गरेको हो । फुर्वा ग्याल्वोका काईला छोरा दावा शेर्पाले पेम्बा लाक्पा माथि भने बाबुको हत्या आरोपमा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?