गोंगबु विभत्स हत्याकाण्ड : हत्यामा प्रयोग भएको खुकुरी र मृतकको कपडा फेला !
रोल्पा घर भई हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको हत्यामा प्रयोग भएको खुकुरी र उनले लगाएको कपडा प्रहरीले फेला पारेको छ । बोहराको विभत्स हत्या गरी फरार भएको आरोपमा कल्पना शाहीलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार चितवनको टाँडीस्थित माधवपुरबाट पक्राउ गरी राति नै काठमाडौं ल्याएको हो । हत्या आरोपित महिला र उनकी छोरीलाई बिहान तीन बजे काठमाडौं ल्याइएको प्रहरीले जनाकारी दिएको छ ।
हत्या आरोपित महिलालाई थप प्रमाण संकलनका लागि अहिले घटनास्थलमा लगिएको प्रहरीले जानकारी दिएको छ । घटनास्थल नजिकैको एक घरमा भाडामा बस्दै आएकी उनले राति बोलाएर बोहराको खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेकी छन् । महिलाको कोठाबाटै प्रहरीले मृतक बोहराको हत्यामा प्रयोग गरिएको खुकुर र उनले लगाउने कपडा समेत फेला पारेको प्रहरीले जनाएको छ ।
हत्या एक्लै गरेको हुन नसक्ने अनुमान गरिएको र अनुसन्धानले पनि त्यस्तै देखिएको बताउँदै आएको प्रहरीले अहिले घटनास्थलमा महिलालाई लगेर थप प्रमाण खोज्ने काम भइरहेको छ ।
गोंगबुको गणेशस्थान नजिकै आइतबार बिहान टाउको र खुट्टा बिनाको शव राखिएको सुटकेश फेला परेको थियो । सुटकेशभन्दा करीब चार सय मिटर पर टाउको र खुट्टा राखिएको जेब्रा झोला बरामद भएको थियो ।