नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ, को हुन् अन्सारी ?


प्रहरीले नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई बाराबाट पक्राउ गरेको छ । १५ किलो सुनचाँदी प्रकरणमासमेत मुछिएका अन्सारीलाई बाराको निजगढबाट पक्राउ गरिएको प्रदेश नम्बर २ का प्रहरीले पुष्टि गरेको छ । अन्सारीलाई आज बिहान निजगढबाट जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो ।

गएको साउन १३ गते कमलादीमा स्कोर्पियोबाट सुन र पेस्तोलको झोला छाडेर अन्सारी फरार भएका थिए । फरार रहेका उनलाई प्रहरीले खोजिरहेको थियो । उक्त झोलाबाट प्रहरीले साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुन र दुईथान पेस्तोल बरामद गरेको थियो ।

को हुन् अन्सारी ?
बाराको प्रस्टोखा–२, हरपुरका अन्सारी प्रायः वीरगञ्जमा बस्ने गर्छन् । उनी आफूलाई पेम्ट्रोल पम्प सञ्चालकका रुपमा चिनाउँछन् । उनी २८ असार २०६८ सालमा बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँको मुख्य कारोबारी थिए ।

घटनापछि फरार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २०७२ जेठमा पक्राउ गरेको थियो । पछिल्लो पटक ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित समातिएका युनुस अन्सारीसँग पनि उनको निकट सम्बन्ध छ ।

युनुसपछि नेपालमा नक्कली भारतीय नोट कारोबार गर्ने व्यक्ति उनी थिए । प्रारम्भमा युनुसकै समूहमा भएपछि पछिल्लो पटक उनले आफ्नै समूह सञ्चालन गरिरहेका थिए । अन्सारी पाकिस्तान र भारत दुवै मुलुकका लागि सूचना दिने व्यक्ति पनि हुन् । उनलाई प्रहरी अधिकृतहरु डबल एजेन्टका रुपमा चिन्छन् । अन्सारीले हरेक अपराधमा फरकफरक नाम बताएर संलग्न हुने गरेका छन् ।

२६ जेठ ०६७ मा ललितपुर जिल्ला अदालतले अन्सारीलाई नक्कली भारु नोट कारोबारमा दोषी ठहर गर्दै कैद र जरिवाना सुनाएको थियो । उनी जेल परेर छुटेपछि सुन तस्करीलगायत अवैध क्रियाकलापमा लागेको प्रहरी स्रोत बताउँछ । उनी भारतमा ‘मोस्ट वान्डेट’को सूचीमा रहेको पनि जनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?