तास्मानियामा नेप्लीज फुटबल क्लब, खेल र अनुशासनले युवा जोड्ने प्रयास !


फुर्सदको समयमा कुलतबाट जोगाउन र स्वस्थ र अनुशासित युवा को प्रबद्र्धनका लागि तास्मानियामा नेप्लीज फुटबल क्लब अफ तास्मानिया गठन भएको छ । कोरोना महामारीले सबैतिर निरासाकै खबर मात्र आइरहेका बेला युवाहरुले प्राप्त समयको सदुपयोग गर्दै क्लब बनाएका हुन् ।

क्लबको परिकल्पना एनआरएन तास्मानियाका संयोजक सन्देश परियारले गरेका हुन् भने क्लबलाई होटन्डो होम्सले प्रायोजन गरेको छ । सन्देश होटन्डो होम्समा पनि काम गर्छन् ।

अष्ट्रेलियन निर्माण कम्पनी होटोन्डोका निर्देशक क्रेग ईलिस हुन् । सुरुवातको अवसरमा उनले नेपालीभाषीहरुको संख्या तास्मानियामा बढ्दो रहेको कुरामा आफु जानकार रहेको र युवाहरुलाई केही गर्नुपर्छ भन्ने सोचका साथ फुटबल क्लबसँग सहकार्य गर्न लागेको बताएका छन् ।

सुरुवातमा फुटबल क्लबमा २० जना खेलाडी आबद्ध हुनेछन् । होबार्टमा रहेका नेपाली र नेपालीभाषी भुटानीहरुको संलग्नतामा फुटबल प्रबद्र्धन गर्ने योजना छ । क्लबका क्याप्टेन युडी गुरुंग निरास बनेका युवाहरुलाई खेलको माध्यमबाट जोड्दै अनुशासित समाज बनाउन क्लबले सफलता पाउनेमा विश्वस्त छन् । उनी भन्छन्, “होबार्टमा अलि मोनोटोनस जस्तो जीवन बाँचिरहेका नेपालीहरुमाझ क्लबले नयाँ उत्साह सञ्चार गर्नेछ । क्लबको निर्माणले समूदायमा भाईचारा बृद्धि गर्ने उनको विश्वास छ ।”

टिमका म्यानेजर सुदिप तामांग अष्ट्रेलियाका विभिन्न राज्यबाट नेपालीहरु होबार्टमा आउने क्रम बढिरहँदा खेलाडीहरु पनि आइरहेको र उनीहरुलाई एकताबद्ध बनाएर एउटा सशक्त नेपाली फुटबल टिम बनाउने र स्वस्थ जीवन यापनका लागि फुटबल प्रबद्र्धन गर्ने योजना सुनाए । टिम बनेर फर्ममा आइसकेपछि अन्य राज्यमा समेत होबार्टको प्रतिनिधित्व गर्दै प्रतियोगिताहरुमा सहभागी हुने उनले बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?